Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सय वर्ष पार गर्दा पनि छैन नागरिकता, राज्यले दिने सेवा सुविधाबाट वञ्चित


    सोमबार, मंसिर २२ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिन्धुली । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सकेकी तर पनि उनीसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित छिन् ।

    “यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई राज्यले हेरेन”, उनले भनिन्, “वृद्धभत्ता मात्र लिन पाए पनि बनिबुतो गरेर मलाई पाल्ने नातिलाई सहज हुनेथियो ।”

    श्रीमान्को पनि निधन भएपछि पछिल्लो पाँच वर्षदेखि एक्लो बनेकी छत्रमायालाई नातामा नाति पर्ने पदमबहादुर रानामगरले बनिबुतो गरेर संरक्षण गर्दै आएकी छिन्। “आर्थिक अवस्था कमजोर भए पनि ज्याला मजदूरी गरेर उनीहरूले सकेको सहयोग गर्दै आएका छन् ।

    सरकारले बूढेसकाल लागेपछि हेर्छ पालनपोषण गर्छ भन्ने सुनेको थिएँ तर मलाई वास्ता गरेनन्”, उनले भनिन्, “नागरिकता बनाइदिए हुनेथियो मर्ने बेला भयो तर नागरिकता कस्तो हुन्छ थाहा छैन ।”

    माइती पक्षका कोही पनि नहुँदा नागरिकता लिनबाट वञ्चित छत्रमाया यतिबेला राज्यले प्रदान गर्ने सेवा सुविधाबाट पनि वञ्चित हुँदै आएको स्थानीय एकराज पहाडीले बताइन् । “सकेको पालनपोषण गरेको देखिन्छ । नागरिकता भए पाल्ने र पालिने दुवैलाई केही राहत मिल्ने थियो”, उनले भनिन् । साविक हतपते गाउँ विकास समितिमा माइती रहेको र आफन्त नरहेको वृद्धाले बताउँदै आएको उनले जानकारी दिइन् ।

    कमलामाई नगर प्रमुख खड्गबहादुर खत्रीले आफूले दशैँमा १०० वर्ष पार गरेको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा उनले नागरिकता नपाएको थाहा पाएको बताए । उनलाई नागरिकता दिलाउन कमलामाईले प्रमुख जिल्ला अधिकारीसँग पहल गर्ने बताए ।

    यदि नागरिकता दिलाउन नसके पनि कमलामाईले संरक्षण गर्नुपर्ने ज्येष्ठ नागरिकका लागि संरक्षण गर्न नगरपालिकाले आवश्यक योजना बनाउने बताए । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले नागरिकतामा भर्नुपर्ने विवरणका आवश्यक प्रमाण पुगेमा उनले नागरिकता प्राप्त गर्नसक्ने बताए। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार