Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदेश सांसद केसी नै मानवतस्करीमा संलग्न, अमेरिका जान लागेका १७६ नेपाली ब्राजिलमा अलपत्र


    बुधबार, भाद्र १२ २०८१
    2.6K
    Shares
    नेपाल फेस
  • ११ मिनेट पाठ
  • काठमाडौं । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ । ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ ।

    ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र भए पुष्टि गरेर प्रवेश आज्ञा लिएर मात्रै ब्राजिल छाड्न आग्रह गरेको छ ।

    मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अबैध बाटो हुँदै अमेरिका हिंडेका १७६ नेपालीसहित झन्डै सात सय आप्रवासी एक सातादेखि ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन् ।

    ब्राजिलस्थित नेपाली दूतावासले आज जारी गरेको एक विज्ञप्तिमा अलपत्र परेका सबै नेपाली सकुशल रहेको उल्लेख छ । ब्राजिलको नियन्त्रणमा रहेका नेपालीहरुले ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्नेहरुको संख्या बढ्दै गएपछि ब्राजिलले आप्रवासन नीतिमा परिवर्तन गरेको छ । ब्राजिलले राहदानीबाहकलाई प्रवेशआज्ञा लिएको भएमात्र ब्राजिलमा प्रवेश अनुमति दिने नियम ल्याएको दुताबासले उल्लेख गरेको छ । ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोहि विमानमार्फत फिर्ता पठाइने तर विमास्थलमा शरणार्थीको मान्यता नदिने कानुन ल्याएको छ ।

    सोही परिवर्तित कानुनका कारण यसपटक करिब सात सय आप्रवासी विमानस्थलमै अलपत्र परेका हुन् । तस्करको प्रलोभनमा अमेरिका छिर्नेक्रममा ब्राजिल पुगेका उनीहरुलाई केही दिनभित्र ब्राजिलले सम्बन्धित देशमा फिर्ता पठाउन सक्ने देखिएको छ ।

    अमेरिका मानवतस्रीका मुख्य नाइके सांसद केसी

    ब्राजिल हुँदै अमेरिकामा अबैध रुपमा मानवतस्करी गर्नेमा लुम्बिनी प्रदेशका प्रदेश सांसद धनबहादुर केसी(डीबी) भएको स्रोत बताउँछ । उनले दुबई, पनामाका समुन्द्र, जंगलको बाटो हुँदै बर्षौदेखि अमेरिका मानवतस्करी गर्दैंआएका छन् ।केसी नेपाली कांग्रेसका तर्फबाट रुकुम पूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । केसीको गिरोहले ३५ लाख रुपैयाँदेखि ७० लाख रुपैयाँसम्म लिएर विनाभिसा गैरकानुनी रुपमा अमेरिका पठाउने धन्दा विगत १५ बर्षदेखि गरिरहेको छ । करिब ८ महिनाअघि मानवतस्करीमा प्रयोग भएको भारतीय यात्रुबाहक विमान ४ दिन फ्रान्स बसेर भारत नै फर्किएपछि नेपालमा समेत हलचल मच्चिएको थियो । मानव तस्करीको आशंकामा दुबईको फुजिरा विमानस्थलबाट २ सय ७६ यात्रु लिएर फ्रान्स पुगेको चार्टर विमान भारतको मुम्बई एयरपोर्ट अवतरण गरेपछि हलचल मच्चिएको हो ।

    धनबहादुर केसी(डीबी)

    करिब ८ महिनाअघि जर्मनको फ्र्यांकफर्टबाट मेक्सिको हुँदै २ वटा चार्टर विमान निकारागुआमा अवतरण भएका थिए । ती दुबै विमानमा अमेरिका जाने नेपाली यात्रु रहेका थिए । चार्टर एयरबस ए ३४० यूएईबाट निकारागुआका लागि उडान भर्ने तयारीमा रहेको बिमान मुम्बई फर्काइए पनि मानवतस्कर सांसद केसीको गिरोहले शारजहा विमानस्थलबाट पुनः मानव तस्करी गर्दैआएको छ ।

    अहिले पनि दुबईमा हजारौं नेपालीलाई अमेरिका पठाउनका लागि डीबी केसीको गिरोहका मानव केसी भन्ने ब्यक्तिले जम्मा थुपारेर राखेका छन्। उनीहरुलाई ट्राभलमा टिकट काट्ने, चार्टर गर्ने काम लुम्बिनी प्रदेश सांसदनिकट रहेका उनै केसीले गर्दैआएका छन् ।

    केसीको गिरोहले दिल्ली, हैदारावाद, कलकत्ता, मुम्बई लगायतका भारतका बिभिन्न सहरमा अमेरिका पठाउने नेपालीलाई राखेका छन् । फ्रान्सबाट भारतमा विमान फिर्ता भएपछि भारतका खुफिया एजेन्सीहरुले निगरानी गरिरहेका छन् ।
    पेरिसका अधिकारीहरूले गोप्य सूचना प्राप्त भएको र उक्त सूचनामा विमानमा केही यात्रु मानवतस्करीको जालोमा फसेको उल्लेख भएको पाइएपछि विमान रोकिएको बीबीसीले नै खुलासा गरेको थियो ।

    नेपालबाट भारत हुँदै दुबईमार्फत् निकारागुआ पुर्याएर अमेरिकामा मानव तस्करी गर्ने गिरोहमा नेपाली कांग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद केसी नै संलग्न रहेको सूचना प्रहरीले पाए पनि यो प्रकरणमा गम्भीर रुपले अनुसन्धान हुन सकेको छैन ।

    केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) का एक अधिकारीले अमेरिका लगायतका देशमा हुँदैआएको मानवतस्करीमाथिको अनुसन्धान जारी रहेको र गिरोहको जालो चाँडै नै तोडिने दाबी गर्दैआए मानवतस्कर केसीलाई निय न्त्रणमा लिन सकेको छैन ।

    ८ महिनाअघि अबैध रुपमा अमेरिका जान लागेका नेपालीलाई फ्रयांकफर्टबाट पुनः मुम्बई फकाईँदै

    अमेरिका मानवतस्करीका मुख्य नाइके सांसद केसी भए पनि आवरणमा मानव केसी देखिने गरेका छन् । सांसद केसीको गिरोहले १५ बर्षदेखि भिजिट भिसामा दुबई पुर्याएर ब्राजिल, इक्वेडर हुँदै अमेरिका पठाउँदैआएको रहस्य विस्तारै खुल्दैछ ।

    सांसद केसीको गिरोहले सन् २००३ देखि २००४ सम्म सिंगापुर हुँदै इक्वेडर पठाएर त्यहाँबाट युरोपमा मानव तस्करी गराउँथ्यो । पछि केसीले आफैं इक्वेडर बसेर त्यहीँबाट अमेरिका छिर्ने चोरबाटो पत्ता लगाई नेपालीलाई अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । पछिल्लो समय ब्राजिलको साओपाउलो हुँदै लाने गरेका छन् ।

    गिरोहका नाइके केसी सन् २००४ देखि २०१० सम्म इक्वेडर बसेका थिए । इक्वेडरमा विदेशी केटी विवाह गरेका उनका एक छोरा र छोरी छन् । केही समयअघि अमेरिकामा मानव तस्करी गर्ने गिरोहका अर्का सदस्य हस्त गौतम भन्ने हस्त केसी पक्राउ परेसँगै यो गिरोहको अमेरिका मानवतस्करीको पोल खुलेको हो ।

    अमेरिका पठाउने नाममा हस्तले धेरै व्यक्तिबाट पैसा असुलेका थिए । हस्त हाल केन्द्रीय कारागारमा थुनामा छन् । उनै हस्तले नेपालीलाई मेक्सिको हुँदै अमेरिका पठाउने चोर बाटो पत्ता लगाएका थिए । हस्तको बारेमा प्रहरीले अनुसन्धान गर्दैगर्दा प्रदेश सांसद केसी मूल नाइके भएको खुलेको स्रोत बताउँछ ।

    स्रोतका अनुसार हस्त देखाउने दाँत मात्र हुन्, यसको भित्री धन्दा भने उनै प्रदेश सांसद केसी र उनको गिरोहले गर्दै आइरहेका छन् । केसीको समूहले मित्रनगरमा रुकुमेली ट्राभल्स समेत खोलेको र उक्त ट्राभल्सबाट मानव तस्करी, हुण्डी र डलरको धन्दा चल्दै आएको पनि स्रोत बताउँछ ।

    अमेरिका मानवतस्कर गर्ने पहिलो र दोस्रो चार्टर सफल भए पनि तेस्रो चाहिं मिलेमतोमा ८ महिनाअघि पेरिस पुगेको विमान फिर्ता भएको थियो । पहिलो चार्टर विमानमा करिव १ सय जना नेपाली थिए । गिरोहको सबै कारोबार गर्ने व्यक्ति गोविन्द पाठक रहेका छन् । गिरोहले मानव तस्करी गरेको अवैध पैसाले ग्राण्डी अस्पताल नजिकै सेतो बाघ नामको दरबार समेत निर्माण गरेको एक पीडितको भनाइ छ ।

    सांसद केसीका मानव तस्करी गराउने सहयोगीका रुपमा मिलन गुरुङ, हरि थापा (दाङ), मिनबहादुर केसी (दाङ), विकास केसी (रुकुम) श्रीप्रसाद श्रेष्ठ(पर्वत), जेम्स भन्ने सविन लामा(सिन्धुपाल्चोक), भरत विक (दाङ), रामबहादुर केसी(रुकुम पश्चिम), मनिष शर्मा (बाग्लुङ), अरुण बुढामगर(रुकुम), भरत काफ्ले(स्याङ्जा) हरि खड्का(बाग्लुङ), सन्तोष थापा(दाङ), दुर्गा डाँगी (दाङ), प्रेम केसी (रुकुम), रुपक गौतम (रुकुम), भूपति श्रेष्ठ(रुकुम), शोभाकर पौडेल शर्मा(रुकुम), कमल खड्का(बाग्लुङ), जनक श्रेष्ठ(पर्वत), मदन गिरी(रुकुम) रहेका छन् ।

    त्यसैगरी आले भनेर चिनिने यमबहादुर आले(गोरखा), प्रेम पाण्डे(चितवन), सत्यमान बुढामगर(रुकुम), राजु केसी(रुकुम), सीवी गुरुङ भन्ने चन्द्रबहादुर गुरुङ(ओखलढुंगा–रुम्जाटार) ले पनि मानवतस्करीमा सहयोगीको काम गर्दै आइरहेका छन् ।

    त्यस्तै मानवतस्करी गिरोहमा आरएन गौतम, जनकप्रसाद श्रेष्ठ(पर्वत)लगायतले पनि सहयोग गर्दै आइरहेका छन् । अर्का सहयोगी आशिष सापकोटा मानव तस्करीमा सहयोग गर्न अमेरिका रहेको खुलेको छ ।

    कुनै समय मस्को बसेका चन्द्रबहादुर गुरुङले दिल्ली बसेर सेटिङ गर्दै आइरहेका छन् । दिल्लीमा उनले कुनै पीडितले सम्पर्क गरेमा भारतीय र नेपाली प्रहरी सबै सेटिङ मिलाएको छु भन्दै ब्ल्याकमेलिङ गर्दै उल्टै थर्काउने गरेको एक पीडितको भनाइ छ ।

    केसीको मानवतस्करी गिरोहः विश्वका विभिन्न ठाउँमा तैनाथ

    पछिल्लो समयमा सरकारले दुबईमा जान कडाइ गरेपछि गिरोहले नेपालीलाई भारतको मुम्बईलाई ट्रान्जिट बनाएर फ्रान्स हुँदै कोलम्बियाको बाटो पानामामा लाने र त्यहाँबाट क्यारेबियन सागरमा डुंगामार्फत् अमेरिका पुर्याउने गरेको छ । विनाभिसा पानामाबाट अमेरिका छिर्ने क्रममा जंगल, समुन्द्र र बाटोमा धेरै नेपालीले मृत्युबरण गर्ने गरेका छन् । सांसद केसीको गिरोह नेपालदेखि ब्राजिल, दुबई, कोलम्बियादेखि अमेरिकासम्म नै परिचालित छ ।

    ८० लाख तिरेर अमेरिका जाने सपना बोकेकाहरुको बाटैमा मृत्यु

    २०७९ साल वैशाखमा मानवतस्करीको संजाललाई ३५ लाख बुझाएर दुबईलाई ट्रान्जिट बनाएर विभिन्न देशहुँदै कोलम्बिया पुगेका रुकुम मुसिकोटका रमेश गौतमको क्यारेवियन सागरमा डुंगा दुर्घटनामा मृत्यु भयो । घरबाट हिंडेको करिब ६ महिनापछि उनी कोलम्बियाबाट पानामातर्फ अघि बढेका थिए ।

    २०७९ कात्तिक २७ गते राति स्थानीय सुरक्षाफौजको आँखा छल्दै क्याराबियन सागरमा अघि बढेको डुंगा दुर्घटना हुँदा गौतमको मृत्यु भएको थियो । कोलम्बियाबाट पानामातर्फ एक दर्जन बढी यात्रु बोकेको डुंगा पल्टिंदा गौतमसहित ३ नेपाली बेपत्ता भएका थिए ।

    ३५ लाख मानवतस्कर गिरोहलाई बुझाएका गौतमको अमेरिका पुग्ने सपना क्यारेवियन सागरमै बिलायो । क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा रमेशसँगै रुकुम बाँफिकोट गाउँपालिका–७ का प्रदीप खत्रीको मृत्यु भएको थियो । दाङको तुलसीपुरका रेशम ढेंगा मगरको पनि अमेरिका जाने क्रममा डुंगा पल्टिएरै मृत्यु भएको थियो । ३६ प्रतिशत ब्याजमा २८ लाख रुपैयाँ ऋण लिएर मानवतस्कर गिरोहलाई बुझाएको मगरको परिवारको बिचल्ली भयो ।

    दाङ तुलसीपुर उपमहानगरपालिका–३ गोटीखोलाका साहिल बोहरा पनि गिरोहको चंगुलमा परी ३० लाख बुझाएर २७ भदौ २०७८ मा अमेरिका छिर्ने सपनाका साथ हिंडेका थिए ।

    सुरुमा उनलाई एजेन्टले दुई महिना दुबईमा राखे, त्यसपछि अर्को एजेन्टको साथ लागेर उनी दुबईबाट पेरु पुगे । एजेन्टको पछि पछि लाग्दै जाँदा लगातारको हिंडाइले उनी बिरामी परे । हिंड्दाहिंड्दै बाटोमै ढले । उनीसँँगै यात्रा गर्नेहरुले अस्पताल लगे पनि उनलाई चिकित्सकले मृत घोषणा गरे । साहिलको अमेरिका जाने सपना पेरुमै अन्त भयो ।

    गिरोहले विना भिसा अमेरिका पुर्याइदिने भनेर लगेका प्युठान ४ खवाङका काले गिरीको पनि पानामामा डुंगा दुर्घटनामा मृत्यु भएको थियो । गएको असोज अन्तिममा भएको डुंगा दुर्घटनामा ३ जना नेपाली बेपत्ता भएकोमा गिरी पनि परेका थिए । गिरी विनाभिसा अमेरिका जान झण्डै १५ महिना अगाडि नेपालबाट हिडेका थिए ।

    कोलम्बिया, पेरु, पानामा सिटीमा महिनौंसम्म हिंडाएर गैरकानुनी रुपमा अमेरिका पठाउने क्रममा ६ जनाको मृत्यु भएको घटनामा प्रहरीले मानवतस्करीका मुख्य नाइके डीबी केसीलाई प्रमाण पर्याप्त भए पनि अझै पक्राउ गर्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार