काठमाडौं । कोरोना महामारीकोबीच भिजिट भिसाका नाममा हुने मानवतस्करी सुरु भएको छ । अन्तर्राष्ट्रिय उडानहरु सुचारु भएसँगै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट सेटिङमै यस्तो धन्दा सुरु भएको हो ।
विमानस्थलस्थित अध्यागमन र प्रहरीकै मिलेमतोमा भिजिट भिसामा खाडी देशमा मानवतस्करी सुरु भएको स्रोत बताउँछ । मानव तस्करी गिरोहको सेटिङमा ठूलो संख्यामा भिजिट भिसामा अध्यागमनले दुबई र कतार जान दिएको छ । त्यसमा आधा जसो महिला छन् । यसमा विमानस्थल अध्यागमन प्रमुख गौलोचन सैंजुकै मिलेमतोको आशंका गरिएको छ । गृह मन्त्रालयमा यससम्बन्धि उजुरी समेत परिसकेको छ । स्रोतका अुनसार बेलुका हुने फ्लाइटमा यस्तो सेटिङ हुने गरेको छ ।
मानव तस्करीमा हुने सेटिङमा लेनदेन नमिलेर विमानस्थलमा यतिबेला अध्यागमन प्रमुख र प्रहरीबीच विवाद समेत उत्पन्न भएको छ । प्रहरीले भाग नपाएपछि विवाद भएको हो । यस्तो गिरोहसँग विमानस्थलका केही प्रहरीसमेत मिलेका छन् । हालै विमानस्थल प्रमुखका रुपमा गएका एसएसपी राजेश बाँस्तोला र अध्यागमन प्रमुख सैंजुबीच समेत विवाद भइसकेको छ ।
स्रोतका अनुसार अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीलाई समेत सेटिङमा भइरहेको मानवतस्करीबारे जानकारी छ । तर, त्यसमा संलग्न कर्मचारीलाई कारबाहीमा चासो नदिनुले उनको भूमिकासमेत शंकास्पद देखिएको छ ।
भिजिट भिसामा बैदेशिक रोजगारीमा जानेहरु जानेहरुसँग प्रतिब्यक्ति ८५ हजार रुपैयाँ घुस अध्यागमनका कर्मचारीले लिने गरेको स्रोतको दाबी छ । अध्यागमनमा लाइनमा बस्नेहरुको हुलिया हेर्दा उनीहरु घुम्न जाने होइन, बैदेशिक रोजगारीका लागि जान लागेको सहजै जोकसैले अनुमान गर्नसक्दछ । तर उनीहरुलाई अध्यागमनका कर्मचारीले सेटिङमा भिजिट भिसामा खाडी राष्ट्रमा रोजगारीका लागि पठाइरहेका छन् । यसमा एयरपोर्ट अध्यागमनदेखि विभागका महानिर्देशकसम्मको मिलेमतो रहेको स्रोत बताउँछ । स्रोतका अनुसार दैनिक पचासौं जना यसरी भिजिट भिसामा बैदेशिक रोजगारीमा गइरहेका छन् ।
बैदेशिक रोजगारीमा जानेहरुलाई सेटिङमा भिजिट भिसामा पठाउने गरेकोबारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भिजिट भिसामा खाडी राष्ट्रमा मानिस जाने गरेको कुरा स्वीकार गरे । उनले भने, मन्त्रीस्तरीय निर्णय छ, ऐन नियम छँदैछन्, ती सबै प्रक्रिया पुर्याएर आउनेलाई पठाउनुपर्ने हुन्छ । विगतमा पनि यस्तै कुरा बाहिर आएका कारणले एउटा मापदण्ड बनाएको छ, मन्त्रीस्तरीय निर्णयका आधारमा । त्यो मन्त्रीस्तरीय निर्णयलाई टेकेर कोही गए होलान्, त्यो निर्णयलाई नमान्न पनि हामी सक्दैनौं । मान्दाखेरी प्रक्रिया पुगेकालाई हामीले पठाउनैपर्छ, भण्डारीले भने ।
अध्यागमनको लाइनमा बसेकाहरुको अवस्था र हुलियाले नै उनीहरु बैदेशिक रोजगारीमा जान लागेको कुरा अध्यागमनका कर्मचारीलाई थाहा हुन्छ, तर सेटिङ भएकाले थाहा भए पनि पठाउने गरेकोबारेमा उनले भने–‘हामीलाई विवेक प्रयोग गर्ने अधिकार कानुनले दिएको छैन । विवेक प्रयोग गर्न सक्दैनौं । तर केही केहीलाई फर्काएका पनि छौं ।’ भिजिट भिसामा जानेको चाप बढेको स्वीकार गर्दै उनले भने–‘श्रम स्वीकृति खुल्ला गर्नुपर्छ । श्रम खुल्ला गरियोस् भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखमार्फत् श्रम मन्त्रालयमा अनुरोध गरिएको छ ।’