Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजश्व छल्ने कम्पनीविरूद्ध मुद्दा दायर


    बुधबार, मंसिर १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राजस्व अनुसन्धान विभागले झुठो तथा नक्कली विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालक, तथा उनका कारोवारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

    तीन कम्पनी र व्यक्तिविरुद्ध कूल रु ४१ करोड तीन लाख बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग दाबी लिइ मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

    विभागले आज एक सूचना जारी गरी पर्सा बेलवास्थित क्रेटा इन्टरप्राइजेजका सञ्चालक नविकरिम अन्सारीसमेत तीन व्यक्तिले रु आठ करोड २४ लाख बिगो बराबरको राजस्व छली गरेको आरोप लगाएको छ ।

    अन्सारीसहित परमेश्वर साह तथा मुख्य कारोवारी जयकिशोर साहविरुद्धसमेत राजस्व छलीमा मुद्दा चलाइएको मैनालीले जानकारी दिए ।

    उनीहरुले वस्तु तथा सेवा उत्पादन र स्थानीय खरिद तथा आयात नगरी बिक्री मात्रै गरेको, मूल्य अभिवृद्धि कर विवरणमा तथा आय विवरणसमेत दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फर्मलाई बैंकमार्फत भुक्तानी नगरी विजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेको जनाइएको छ ।

    यस्तै दोलखा जिल्ला तामाकोशी गाउँपालिकास्थित पिआरके ट्रेड इन्टरनेशनलका सञ्चालक हुमन (लछुमन) माझीबाट पाँच करोड ५६ लाख र बाराको परवानीपुरस्थित मिनजा इन्टरनेशनल प्रालीका सञ्चालक रामबाबु साहानीले रु दुई करोड १९ लाख बिगो बराबरको राजस्व छली गरेको विभागको आरोप छ ।

    झुठो तथा नक्कली विजक प्रयोग गरी धनुषा, रघुनाथपुरस्थित रमण कन्स्ट्रक्सन प्रालीले रु २० करोड ८७ लाख बिगो बराबरको राजस्व छली गरेकाले उक्त कम्पनीविरुद्ध समेत मुद्दा चलाइएको विभागले जनाएको छ । उच्च अदालतमा दायर मुद्दामा बिगो असुल गरी जरिवाना र कैद माग दाबी लिइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार