काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यालय धुम्बाराहीमा हुने सचिवालय बैठकमा भागलिन सुरक्षाका कारण नसक्ने भन्दै बालुवाटारमै बैठक राखियो ।
केही दिनयता राजावादीहरुको जुलुस प्रदर्शन बाक्लै हुनथालेकाले सुरक्षा थ्रेट देखाउँदै ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक राख्ने कुरामा आपत्ति जनाएका थिए ।
प्रधानमन्त्रीको सुरक्षाका लागि राज्यको मासिक ७५ लाख रुपैयाँखर्च हुन्छ । तर उनले धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा समेत सुरक्षाका कारण देखाउँदै जान अस्वीकार गरेपछि बालुवाटारमै बैठक राखिएको थियो ।
प्रधानमन्त्रीओलीले सुरक्षाका कारण पार्टी कार्यालयमा जान नसकेको समाचार सार्वजनिक भएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बुधबार एक दैनिकमा‘धुम्बाराहीमा मात्र नभएर सिंगो काठमाडौं सुरक्षित’ रहेको अभिब्यक्ति दिएका छन् ।
‘सुरक्षाको कारण देखाएर नेकपाको सचिवालय बैठक धुम्बाराहीमा नबसेको भन्ने कुरा के हो ठ्याक्कै मलाई थाहा भएन ।’ एसएसपी सिंहले भनेका छन् ।
प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेट छ भने पनि काठमाडौंका प्रहरी कमाण्डर सिंहले सुरक्षित छ भनेर उनको दाबी निराधार भएको संकेत गरेका छन् ।