Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमजोर बन्दै गएका हुन् आइजीपी ?


    बुधबार, मंसिर १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीन महिनाअघि ल्याएको आचारसंहितामा प्रहरी अधिकारीहरू व्यक्तिगत स्वार्थका लागि राजनीतिक भेटघाट गर्न नपाइने उल्लेख छ । आचारसंहिताको यो बुँदाको हालै डिआइजी विश्वराज पोखरेलले धज्जी उडाइदिए । प्रहरी महानिरीक्षकलाई नै थाहा नदिई एआईजीको दरबन्दी थप्नेदेखि त्यसमा आफ्नो बढुवा गर्न उनी सफल भए ।

    यो घटनाले नेपाल प्रहरीमा चेन अफ कमाण्डको गम्भीर प्रश्न उठेको छ । आईजिपी भन्दा एआईजीमा सिफारिस भएका पोखरेल शक्तिशाली देखिएको यसले प्रहरी नेतृत्वलाई कमजोर बनाउने प्रहरी अधिकारीहरु बताउँछन् ।

    गत बैशाखमा नै पोखरेल बढुवा हुन खोज्दा महानिरीक्षकले रोक्न सफल भएका थिए । यसपटक उनको केही लागेन । संगठनमा एउटा सिष्टम बिगारेको दोष भने महानिरीक्षकले समेत भोग्नुपर्ने छ । उनीसहितको समितिले पोखरेललाई सिफारिस गरेको हो ।

    पछिल्लो निर्णयहरुबाट महानिरीक्षक क्षेत्री कमजोर बन्दै गएको देखिन्छ । गत साताको एसएसपी सरुवामा पनि उनी चुकेको प्रहरी अधिकारी बताउँछन् । धेरै जसो महत्वपूर्ण इन्चार्जहरु शक्तिकेन्द्रको सिफारिसमै भएका छन् ।

    अब हुने डिआइजी बढुवामा उनको लागि अग्निपरीक्षा छ । डिआईजीका ९ पद रिक्त रहेकोमा २१ जना एसएसपी प्रतिस्पर्धामा छन् । त्यसमध्ये ११ जना उनकै ब्याचका छन् ।  जुनियर ब्याचका यतीबेला शक्तिकेन्द्र धाइरहेकाले सिनियरहरु छुट्ने जोखिम छ ।

    महानिरीक्षकको ब्याचबाट पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, शौरभ राणा बढुवाका दाबेर छन् ।

    त्यस्तै ११ महिनापछि भर्ना भएको छिल्लो ब्याचबाट दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादब, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नल प्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा छन् । महानिरीक्षकको केही नचल्ने देखेपछि बढुवाका प्रतिस्पर्धीहरु प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलका सहयोगीहरुमार्फत सेटिङमा लागेका छन् ।

    महानिरीक्षक क्षेत्रीले आफ्ना उच्च अधिकारीहरुसँग छलफल गरेरै निर्णय लिने सामूहिक नेतृत्व प्रणाली अवलम्बन गरेका छन् । तर, यसपटक तल्लो ब्याचको चलखेलबाट उनी पीडित बन्न पुगेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार