लम्बोदर न्यौपाने, रामरत्न उपाध्याय, उपेन्द्र गौतम र लबराज भट्टराई
काठमाडौं । सामुदायिक कलेजमा करोडौं अनियमितता गरेको आरोपमा भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरीङ कलेजका पूर्वअध्यक्ष लम्बोदप्रसाद न्यौपाने पक्राउ परे पनि अन्य सञ्चाकलहरु भने अझै फरार छन् । न्यौपानेसँगै अनियमिततामा संलग्न तत्कालिन सञ्चालकहरु ललितपुरका रामरत्न उपाध्याय, काठमाडौं बिशालनगरका उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका लबराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छैन । त्यतिबेलाका सञ्चालकमध्ये एक सांसदसमेत रहेका सूर्यबहादुर केसीको निधन भइसकेको छ ।
कलेजले नै दिएको ठगीको जाहेरीका आधारमा न्यौपाने गत १० मंसिरमा पक्राउ परेका हुन् । कलेजको ८ करोड २१ लख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको भनेर कलेजका प्रिन्सिपल रामकृष्ण श्रेष्ठले सिआईबीमा जाहेरी दिएका थिए । त्यसमध्ये करिब तीन करोड न्यौपानले बाँकी अन्य सञ्चालकले ठगी गरेको कलेजले जनाएको छ ।
न्यौपाने २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म कलेजको सञ्चालक समितिका अध्यक्ष थिए । त्यसक्रममा उनले कलेजको बजेटबाट किनेको गाडी आफ्नो नाममा पास गर्नेदेखि बिना खर्च सञ्चालक समितिले पैसा निकालेर दुरुपयोग गरेको थियो । न्यौपानले सचिवालय खर्चको बहानामा ५७ लाख ५० हजार रुपैयाँ निकालेर दुरुपयोग गरेका थिए । त्यस्तै २० फागुन २०७३ मा बसेको सञ्चालक समितको बैठकले एक करोड ५० लाख रुपैया कुनै बिल नै पेश नगरी सञ्चालकहरुलाई दिने निर्णय गरेको थियो । काल्पिनिक शीर्षकमा उनले पटक पटक रम निकालेर दुरुपयोग गरेको कलेजको दाबी छ । न्यौपानेको नेतृत्वमा कलेज सञ्चालन हुँदा २३ करोड १० लाख रुपैयाँ बेरुजु आएको थियो । त्यो बेरुजु उनीहरुबाट असुल गर्न समेत जाहेरीमा माग गरिएको छ । न्यौपाने पक्राउ परेपछि अन्य सञ्चालकहरुलाई लुक्न सहज भएको छ ।
सोही कलेजको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख घुससमेत लिएका थिए । कलेजको विवादमा न्यौपानेको पक्षमा निर्णय गरिदिन त्यसरी घुस लेनदेन भएको थियो । सो प्रकरणमा न्यौपानेविरुद्ध समेत मुद्दा दायर भएकोमा उनी ७८ लाख धरौटीमा अदालतबाट छुटेका थिए ।
भ्रष्टाचार प्रकरणपछि पुरानो सञ्चालक समिति खारेज भएको थियो । हाल चाँगुनारायणका मेयर सोम मिश्रको अध्यक्षतामा कलेजको सञ्चालन समिति गठन गरिएको छ ।