Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपचारकाे अभावमा सुत्केरी महिलाको मृत्यु


    मंगलबार, मंसिर १६ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा उपचारकाे अभावमा सुत्केरी महिलाको सोमबार राति मृत्यु भएको छ । उनको उच्च रक्तस्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

    तुर्माखाँद गाउँपालिका-४ नाडाकी ३८ वर्षीया नामसरा विक सोमबार दिउँसो व्यथा लागेको र रक्तस्राव भएको भन्दै तुर्माखाँद स्वास्थ्य चौकी पुगेकी जिल्ला अस्पतालका डा. अतुल भारद्वाजले जानकारी दिए । 

    उनका अनुसार नामसराकाे अवस्था गम्भीर भएका कारण स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि उनलाई दिउँसो साढे ४ बजे जिल्ला अस्पताल रिफर गरिएको थियो । ‘ती महिलालाई तुर्माखाँदबाट मंगलसेन पुर्‍याउनै ६ घण्टा लाग्यो ।

    त्यतिन्जेल रगत अत्यधिक बगिसकेको थियो । साँझ करिब १० बजेतिर जिल्ला अस्पताल पुर्‍याइएको थियो,’ डा. भारद्वाजले भने, ‘अस्पताल पुग्दा उनको अवस्था गम्भीर थियो । हामीले नर्मल डेलिभरी नै गरेका हौं । बच्चा पेटमै मरिसकेको थियो ।’

    रात १२ बजे उनले बच्चा जन्माएको र त्यसको केही समयपछि उच्च रक्तस्रावका कारण मृत्यु भएको उनले बताए । ‘सुत्केरी भइसकेपछि हामी ब्लड दिने तयारीमा थियौं ।

    अनेक प्रयास गर्दा पनि महिलालाई बचाउन सकिएन,’ उनले भने, ‘शिशु जन्मेको केही समयपछि उनको मृत्यु भयो ।’ परिवारका अनुसार नामसराका यसअघि ३ छोरा र २ छोरी छन् । छैटौं शिशुलाई जन्म दिने क्रममा उनको मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार