Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • अनुमतिविना एयरपोर्टमा दीपक मल्होत्राको रक्सी पसल संचालनः हाकिमका छोरालाई निःशुल्क सेयर 


    सोमबार, मंसिर १५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • पार्किङका लागि लिनुपर्ने मल्होत्राको कम्पनीको मेम्बरसीप कार्ड, मल्होत्रा र मदिरा पसल 

    काठमाडौं । नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्यटी फ्री सप छैन । अन्तर्राष्ट्रिय विमानस्थलभित्र मदिरा बिक्री गर्न नियामक निकाय नेपाल नागरिक उड्ड्यन प्राधिकरण अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयसँग अनुमति लिनुपर्छ । तर कार्यालयको अनुमति नै नलिई विवादित ब्यापारी दीपक मल्होत्राले एयरपोर्टमा निर्माण गरेको सपिङ कम्प्लेक्समा मदिरा पसल संचालन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलद्वार पूर्वतर्फको ५० रोपनी १५ आना ३ दाम १ पैसा क्षेत्रफल भएको जग्गा रतिशचन्द्रलाल सुमन विमानस्थलको महाप्रबन्धक हुँदा २०६९ कात्तिक २ गते रसुवा केडी ज्वाइन्ट भेञ्चरलाई लिजमा दिइएको थियो । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा सुमनले उक्त जग्गा लिजमा दिइएको भन्दै उम्किंदैआएका छन् ।

    photo.jpg

    मल्होत्रा, राजकुमार क्षेत्री र उनका छोरा हिमालय

    उक्त भवनमा उनले मदिरा पसल संचालनका लागि अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय(टीआइए)को अनुमति नलिएको तथ्य खुलेको छ । प्रहरीका उच्चअधिकारीदेखि प्रशासक र मन्त्री प्रधानमन्त्रीसम्म पहुँच भएका उनले रक्सी पसलमा टीआइएका तत्कालीन महाप्रबन्धक राजकुमार क्षेत्रीका छोरा हिमालयजंग क्षेत्रीलाई साझेदार राखेका छन् । बाबु हाकिम भएको समयमा छोरालाई निःशुल्क सेयर दिएर उनले रक्सी पसल संचालन गर्न दिएबापत मापदण्ड विपरीतको कम्प्लेक्सलाई बैधानिकता दिने चलखेलमा छन् ।

    भवन मापदण्डविपरीत बनेको र सुरक्षामै प्रश्न उठेको बिषय महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उठाइएको छ । लिज सम्झौता भएको २४ महिनाभित्र सम्पन्न गरी सरकारलाई बार्षिक भाडा ७८ लाख रुपैयाँ भाडा दिने उल्लेख थियो । तर सम्झौता भएको ५ बर्षसम्म पनि पूरा नगरी राज्यलाई भाडासमेत बुझाएनन् । २ बर्षभित्र सम्पन्न गरी बार्षिक भाडा ७८ लाख रुपैयाँ तिर्नुपर्ने मल्होत्राले टीआईएका हाकिम राजकुमार क्षेत्रीलाई मिलाएर नतिरेको आरोप छ । त्यहीबापत क्षेत्रीका छोरालाई हिमालयलाई उनले कम्प्लेक्सको मदिरा पसलदेखि मनि चेन्जरको साझेदार बनाएका छन् । अहिलेको नियमावलीअनुसार मल्होत्राको कम्प्लेक्स रहेको जग्गाको वार्षिक भाडा १ करोड ५६ लाख हुन्छ । तर, एयरपोर्ट प्रवेशद्वारसँगै बनेको व्यापारीक भवनको उनले नियमावली अनुसार भाडा समेत तिरेका छैनन् ।

    मल्होत्राले कम्प्लेक्स मापदण्ड बिपरीत बनाएको बिषयमा महालेखा परीक्षककै प्रतिवेदनमा उल्लेख छ, तर त्यही मापदण्ड विपरीतको कम्प्लेक्सलाई बैधानिकता दिन सहयोग गरी तपाईले छोरालाई मल्होत्राको मदिरा पसलमा पार्टनर बनाउनुभएको हो भन्ने प्रश्नमा उनले भने–‘म १ बर्षअघि एयरपोर्टबाट सरुवा भएको हुँ, उक्त कम्प्लेक्समा ३ महिनाअघि पसल खुलेको हो । कसरी मेरो संलग्नता हुन्छ ? फेरि ब्यापारीक कम्प्लेक्स मल्होत्राको हो, भाडामा जसले पनि लिन पाइहाल्छ, मेरो छोरो होला, अरु कसैको होला, क्षेत्रीले भने ।

    malhotra.jpg
    रसुवा केडीले ३० बर्ष लिजमा लिएर बनाएको कम्प्लेक्स । 

    त्यो कम्प्लेक्स निर्माणाधीन अवस्थामै रहेकोे संरचना सम्झौताविपरीत रहेको महालेखा परीक्षककको प्रतिवेदनले किटानीका साथ उल्लेख गरेको थियो । महालेखाले आफ्नो ५६ औं प्रतिवेदनमा भनेको छ–‘निर्माण व्यवसायीले सम्झौतामा नभएको भूमिगत पार्किङ निर्माण गरेको, स्वीकृत डिजाइनअनुसार भवनको उचाइ ३७ फिट रहेकोमा ५२ फिट उचाइ हुनेगरी संरचना बनाएकोले पर्याप्त मात्रामा सुरक्षाको प्रत्याभूित नरहेको उल्लेख गरेको थियो । एयरपोर्टको सुरक्षामाथि नै प्रश्न उठाइएको उक्त भवनलाई बैधानिकता दिइसकेको दाबी विमानस्थलका पूर्वमहाप्रबन्धक राजकुमार क्षेत्रीले गरेका छन् ।

    सर्वसाधारणले अनुमति बेगर घर बनाउँदा भत्काउनेसम्मको अधिकार पाएको काठमाडौं महानगरपालिकाले उक्त बिल्डिङका सवालमा भने मौनता साँधेको छ ।  तत्कालीन टर्मिनल म्यानजमेन्ट हेर्ने डीएमडी तथा हाल विराटनगर नागरिक उड्डयन प्राधिकरणका प्रमुख उत्सवराज खरेल पनि मनि चेञ्जरदेखि अरु व्यवसायमा पाटर्नर बन्न सफल भएको कर्मचारी स्रोत बताउछ । खरेलले नै नयाँ व्यापारिक कम्प्लेक्स भवन सञ्चालन नहुँदै ब्यक्तिगत स्वार्थका लागि आगमनतर्फको विमानस्थलमा हुँदै आएको पार्किङलाई जबर्जस्ती मल्होत्राको  व्यापारिक कम्प्लेक्स परिसरमा सारेका थिए ।

    लज्जास्पद कुरा त के छ भने नागरिक उडड्यन कार्यालयको महाप्रबन्धकको गाडीदेखि नागरिक उडड्यन प्राधिकरणका महानिर्देशकसम्मको गाडी नया“ व्यापारिक कम्प्लेक्स परिसर पार्किङ गर्दा शुल्क तिर्नुपर्छ । मल्होत्राको  आइएमएस एयरपोर्ट सर्भिस प्रालिले जारी गरेको पार्किङ मेम्बर कार्ड लिन अनिवार्य गरिएको छ । यसरी मल्होत्राले निर्माण गरेको भवन परिसरमा आगमनतर्फको सवारी साधन पार्किङ गर्नैपर्ने बनाइएको छ । विमानस्थलमा आउने यात्रुहरु ट्रली लिएर बाहिर गाडीमा आउनसमेत अत्यन्त कठिन छ । सहजरुपमा यात्रुलाई आउन समेत मिल्दैन । ४ वटा लिफ्टबाट आवतजावत गर्नुपर्छ । ब्यागेज लिएर आउन कठिन रहेको यात्रुहरुको गुनासो सुनिन्छ ।

    विमानस्थल पूर्णरुपमा संचालन नहुँदै असन बजारको जस्तै भीडभाड हुने गरेको छ । पूर्णरुपमा संचालन भएपछि झन् कस्तो हालत होला ? एयरपोर्टमा आफन्त लिन जानेले पनि अनिवार्य रुपमा मल्होत्राको कम्प्लेक्सले तोकेको सवारी पार्किङ शुल्क तिर्नुपर्ने भएको छ । आइएमएस एयरपोर्ट सर्भिस प्रालिको मेम्बरशीप कार्ड लिनुपर्ने भएको छ । यसरी ब्रम्हलुट गर्ने छुट मल्होत्रालाई टीआइएले दिएको छ । यसरी नागरिक उड्डयनकै महाप्रबन्धकसम्मले पनि आइएमएसको मेम्बरसीप कार्ड लिएर गाडी पार्किङ गर्नेगरी सबै सुरक्षाको जिम्मा मल्होत्रालाई दिएको हो भन्ने जिज्ञासामा टीआइएका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले भने–म त १५ दिन पनि भएको छैन निमित्त भएको । पहिला के गरी दिइयो थाहा भएन, बुझ्नुपर्छ भने । 
     नेपालमा घडी हुँदै सुन र मोवाइलको कारोबार गर्दैआएका दीपक मल्होत्राका पार्टनर विमल पोद्दार ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका थिए । उनले बयानका क्रममा मल्होत्राले सुन तस्करी गर्ने गरेको रहस्य खोले पनि प्रहरीले छुने आँट गर्न सकेन । प्रहरी समेत सानातिना २९२ जना समातिए, तर मल्होत्रासम्म अनुसन्धानको सुई पुग्न सकेन । बरु सुन छानबिनको ७ सय ५२ पृष्ठको प्रतिवेदन नै दराजमा थन्किएर धुलो लाग्न पुगेको छ ।

    सुन छानबिन ठूलो हल्लाखल्लाका साथ गरियो, तर हात्ती आयो फुस्सा भयो । तिनै मल्होत्राले एयरपोर्टमा राज्यको नियमविपरीत भवन बनाएका छन् । र, उक्त भवनमा पार्किङदेखि विभिन्न शीर्षकमा मनपरी भाडा असुलेर राज्यलाई भने अहिले पनि ठगिरहेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार