रौतहट । रौतहटकाे माधवनारायण नगरपालिका–७, लौकाहाका रामअयोध्या साह तेली र उनकी श्रीमती सीतादेवीले आफ्नै छोरी १७ वर्षीया अमृता साहको हत्या गराएको घटना सार्वजनिक भएको छ ।
उक्त घटनामा संलग्न रहेकाे अभियाेगमा प्रहरीले बाबुआमासहित ७ जनालाइ पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा मृतक किशोरीका आमाबुवाका अतिरिक्त देवाही गोनाही नगरपालिका–२ करुनिया लक्ष्मिनियाका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भने ईस्लाम अन्सारी, ३५ वर्षीय शेख ईन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साह छन् ।
प्रेम सम्बन्धमा रहेकी अमृताले प्रेमीसँग भागेर विवाह गर्दा इज्जत जाने डरले उनीहरुले हत्या गराएको तथ्य प्रकाशमा आएको प्रहरीको भनाइ छ ।
किशोरीका आमाबुबाले हत्याको योजना बनाएर अन्य पाँच आरोपितलाई हत्याबापत पैसाको प्रस्ताव गरेको र उनीहरुले पैसा लिएर ती किशोरीको हत्या गरेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार आरोपित सबैले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । उनीहरुमाथि ज्यान सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट अनुसन्धानका लागि म्याद लिइएको र थप अनुसंधान भइरहेको एसपी शाहले जानकारी दिए ।