काठमाडौँ, १२ मङ्सिर ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्द छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको हवाई सुरक्षास्तरदर अन्यमुलुकको तुलनामा निकै अगाडी रहेको भन्दै मन्त्री भट्टराईले अझै पनि नेपाललाई इयूले उडान प्रतिबन्द गाइराख्नुपर्ने कुनै कारण नभएको प्रष्ट पार्नुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ को आज सार्वजनिक गर्दै मन्त्री भट्टराईले इयूको सुरक्षा चासो अनुरुप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडैनै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्नसक्ने दाबी गर्नुभयो ।
पर्यटनमन्त्री भट्टराईल भन्नुभयो, “युरोपियन मुलुकमा हाम्रो उडान प्रतिबन्ध कायमै छ, अन्य मुलुकभन्दा हामी हवाई सुरक्षास्तरमा माथी छौ, तर पनि किन प्रतिबन्ध कायमै, प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनले पनि हाम्रो अवस्थालाई स्पष्ट गरेको छ । त्यसैले अझै पनि प्रतिबन्ध लगाइरहनुपर्ने आवश्यकता छैन, यो कुनै तथ्यमा आधारित पनि छैन” उहाँले इयूको उडान प्रतिबन्द फुकुवाको वातावरणका लागि सबैको लभिङ र संयुक्त पहलकदमी चाहिने बताउनुभयो ।
पर्यटनमन्त्री भट्टराईले कानुनी प्रक्रिया पुरा गरी चाडैनै इयूको प्रतिबन्ध फुकुवा गरिने उल्लेख गर्नुभयो । प्राधिकरण विभाजन सम्बन्धी विधेयक चाडैँ टुङ्गिने प्राधिकरण विभाजन सम्बन्धी विधेयक संसदको राष्ट्रियसभामा पेश भई उक्त सदनको विधान समितिमा छलफल भइरहेको जानकारी दिदै चाडै प्रतिनिधि सभामा पनि विधेयक पेश गरिने जानकारी दिनुभयो । उहाँले नेपालको उडान सुरक्षा दक्षिण एशियामौ उत्कृष्ठ भएको बताउदै आगामी दिनमा दुर्घटनादरलाई सून्यमा झार्नेगरी काम गर्न प्राधिकरणका कर्मचारी तथा एयरलाइन्सलाई निर्देशन दिनुभयो ।
प्राधिकरणका अनुसार नेपालको उडान सुरक्षादर अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको ६० प्रतिशत भन्दा माथि नेपालले करिब ६७ प्रतिशत प्रगति गरेको छ । जबकी आइकाओ अन्तर्गका कतिपय मुलुकले यो स्तर कायम गर्न सकेका छैनन् । एशिया प्रसान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको जनाइएको छ ।
मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्र ग्लोवल सदस्य भएकाले देशभित्रको दायित्व र अन्तराष्ट्रिय नियम र बाध्यतालाईसँगै परिपालना गर्नुपर्ने भएको अवस्थामा पनि पछिल्लो समय हवाई उड्डयनको क्षेत्रमा उल्लेख्य प्रगति भएको र दुर्घटनादर पनि घटेको बताउनुभयो । पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ को सङ्क्रमणकाबेला नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक दिन पनि बन्द नभई निरन्तर रुपमा सेवाप्रबाह भएको उल्लेख गर्दै अन्तराष्ट्रिय नियमितउडानतर्फ हाल बाँकी गन्तब्यको उडान पनि छिट्टै सञ्चालन गरिने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को हालैको बैठकले उडानप्रतिबन्ध मुलुकहरुमा उडान सुचारु गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको ग्लोवल एभिएसन सेफ्टी प्लानको ६० प्रतिशत भन्दा माथी नेपालको प्रगति रहेको र यो स्तरदरलाई ७५ पु¥याउले लक्ष्यका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले पछिल्ला तीनवर्षमा हवाई दुर्घटनादर औषतमा वर्षमा एक दुर्घटना र सात जनाको निधन हुने गरेको छ । प्राधिकरणले सन् २०१७ देखि एभिएसन सेफ्टी रिपोर्ट हरेक वर्ष सार्वजनिक गर्दै आएको छ । नेपाल हवाई उडान सुरक्षाको क्षेत्रमा प्रगतिशील र पारदर्शी छ भन्ने उदाहरण प्रस्तुत गर्नपनि रिपोर्ट सार्वजनिक गर्ने गरिएको प्राधिकरणले जनाएको छ ।
नेपालमा हवाई दुर्घटनादर घट्यो उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमताअभिबृद्धिलगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको छ । यसबाट हुने मृत्युदरपनि घटेको छ । पछिल्लो १० वर्षको अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तरदरमा प्रगति हुनुले पनि यसको पुष्टि गर्छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१९ को एभिएसन सेफ्टी रिपोर्टमा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना र तीनको मृत्यू भएको छ ।
सन् २०१० मा दुई दुर्घटना ३६ को मृत्यु भएको थियो । त्यस्तै हेलिकोप्टरतर्फ सन् २०१९ दुई दुर्घटना सातको मृत्यु भएको छ । प्राधिकरणका उपमहानिर्देशक नरेन्द थापाले सेफ्टी रिपोर्ट प्रस्तुत गर्दै पछिल्ला वर्षमा हवाई दुर्घटना तथा मृत्युदर घटेको बताउनुभयो । नेपालमा हवाई दुर्घटना हुने मूख्य चुनौतीका रुपमा पहाडी भेगको उडानमा साना १९ सिटे जहाजको प्रयोगको बाध्यता, कठिन भूगोल, मौसमी अवस्था, छोटो धानवमार्ग आदि कारण रहेको विज्ञहरु बताउछन् ।
दुर्गममा उडान हुने विमानस्थमा विमान तथा हेलिकोप्टर उडानका लागि प्राधिकरणले छुट्टै सुरक्षाटोली गठनगरी एयरलाइन्ससँगको सहकार्यमा विभिन्न सुरक्षाका उपाय अवलम्बन गरेकाले हवाई दुर्घटनादर घटेको प्राधिकरणको हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताउनुभयो । त्यस्तै आइकाओलगायत हवाई उडान सम्बन्धी अन्तराष्ट्रिय संस्थाको समन्वय र सहकार्यका कारण पनि नेपालको उडान सुरक्षास्तरदर बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।