काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा कार्यरत अन्यत्र समायोजन भएका स्वास्थ्यकर्मीलाई कोभिड अवधिभर रमाना नदिई साविक अस्पतालमा कामकाज लगाई तलब–भत्ता भुक्तानी गर्न निर्देशन दिएको छ।
मन्त्रालयको कात्तिक २८ गतेको सचिवस्तरीय बैठकले यसअघि कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि कामकाज गर्न खटाइएका कर्मचारीलाई पूर्ववत् कामकाज लगाई तलब–भत्ता भुक्तानीको निर्णय गरेको हो।
मन्त्रालयले सात वटै प्रदेश र सबै स्थानीय तहलाई पत्रचार गर्दै समायोजन भई अन्यत्र रमाना लिनुपर्ने स्वास्थ्य सेवाका कर्मचारीलाई हाल कार्यरत कार्यालयबाट कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा लगाउनुपर्ने भएमा कोभिड अवधिभर रमाना नदिई साविक कार्यालयमा कामकाज लगाई तलब–भत्ता भुक्तानी गर्न भनेको छ।
त्यसैगरी, प्रदेश तथा स्थानीय तहमा समायोजन भई रमाना लिई आएका स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बन्धित निकायले अनिवार्य रुपमा हाजिर गराई कामकाजमा लगाउन पनि मन्त्रालयले प्रवेश र स्थानीय तहलाई अनुरोध गरेको छ।