काठमाडौं । महोत्तरीमा ६ वर्षीया बालिका गुलाव साह खातुनको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते बर्दिबास–१ का ४३ वर्षीय बुद्धिराज न्यौपानेको गए राति उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको स्थानीय विष्णु बम्जनले जानकारी दिएका छन् ।
तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उपचारमा संलग्न डाक्टरहरुले बताएको उनले जानकारी दिए । स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागि तीन जना घाइते भएका थिए । गोली लागेर घाइते अफताब आलम र श्याम कार्कीको अवस्था पनि गम्भीर रहेको बम्जनले जानकारी दिएका छन् ।
गोली लागेपछि न्यौपानेलाई स्थानीय बिनायक हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । गएको आइतबार बेलुकादेखि बेपत्ता बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार राति घर नजिकै झाडीमा बोरामा पोको पारेर फालेको अवस्थामा भटिएको थियो ।
चकलेट किन्न भनेर पसल गएकी गुलावको बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयले बालिकाको शव सडकबीचमा राखेर प्रदर्शन गरेका थिए ।
बालिकाको हत्याको आरोपमा २५ वर्षीय अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।हत्याको आरोप लागेका अरुण कुमार साहको किराना पसल चलाउदै आएका थिए । प्रहरीको प्रारम्भिक बयानमा साहले बालिकाको हत्या गरेको स्वीकारेका छन् ।