Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सशस्त्र र नेपाल प्रहरीकै सेटिङमा तस्करी, करोडौं राजस्व छली


    मंगलबार, जेष्ठ १ २०८१
    3.1K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • सन्तोष मिश्र

    बीरगञ्ज । जिल्लाको शान्ति सुव्यवस्था लगायत सीमा सुरक्षा र तस्करी नियन्त्रणको जिम्मेवारीसहित जिल्लामा आएका सुरक्षा प्रमुखहरूको व्यवसायिक प्रतिबद्धता पर्सामा टायँटायँ फिस्स भएको छ ।

    जिल्लामा आउने प्रशासन र सुरक्षा प्रमुखले तस्करी नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । आउनासाथ सञ्चारकर्मी, व्यापारी, उद्योगी, दलका नेता–कार्यकर्तासित भलाकुसारी गर्छन् । त्यस्तो भेटमा तस्करी नियन्त्रण गर्ने मूल दाबी गरिन्छ ।

    उनीहरुले सुरुवाती समयमा देखावटी रुपमा कडाइ गर्छन् तर बसाइ लम्बिने क्रममा प्रशासन र सुरक्षा प्रमुख प्रतिवद्धताबाट चिप्लिने गरेको पाइन्छ । उनीहरुको प्रतिवद्धताविपरीत भारतसँगको सिमावर्ती क्षेत्र लगायत सबै नाकाहरूबाट तस्करी भइरहन्छ ।

    यहाँका व्यावसायीहरू भन्छन्– ‘तस्करीको लाइन’ नमिल्दासम्म कडा प्रतिवद्धता सुनिन्छन् । जब लाइन मिल्छ, त्यसपछि प्रशासन लगायत सरोकारवाला ‘तैँ चुप, मैँ चुप’ हुन्छन् ।  भारतसँग सीमा जोडिएका पर्साका विभिन्न नाकाहरूबाट व्यापक रुपमा तस्करी कार्य निरन्तर रुपमा चलिरहेको पाइएको छ । प्राप्त खबर अनुसार बीरगंजको मुख्य भन्सार एरिया, इनरवा, छपकैया, सिर्सिया र अलौँ नाकाबाटबाट यतिखेर व्यापक तस्करी धन्धा चलिरहेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

    जिल्ला प्रहरी कार्यालय पर्सा एवं सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सामातहत रहेका प्रहरी चौकी, चेक पोस्ट एवं सशस्त्र प्रहरी बल प्रस्तावित सीमा गुल्म एवं बिओपी तथा ड्यूटीवाल प्रहरीलाई प्रभावमा पारेर तस्करहरूले यी नाकाहरूबाट दैनिक लाखौँ रुपैयाँ बराबरको राजस्व छली हुने गर्दछ । तस्करहरुले करोडौँ मूल्यका सामग्रीहरू अवैध रुपमा भंसार छली गरी नेपाल भित्र्याउने गरेको स्रोतले जनाएको छ ।

    पर्सामा लामो समयदेखि तस्करी साम्राज्यमा कुख्याती कमाएका मदन गुप्ता ‘रुन्चे’ ले अटो रिक्साका साथै विभिन्न साना तस्कर एवं भरियाहरू प्रयोग गरेर दैनिक भारी परिमाणमा कपडा भित्र्याउने गरेका छन् । अवैध रुपमा नेपाल भित्र्याएका कपडाका गाँठको नक्कली बिल बिजक बनाई रुन्चेले ट्रान्सपोर्टमार्फत् काठमाडौंदेखि विभिन्न क्षेत्रमा पठाउने गरेका छन् ।

    त्यस्तै मीरा, बिकी बक्सर, ललिता जितुलगायतले कपडाको तस्करी गर्ने गरेका छन् । अनिल, भोला, जितु र विनोदले पार्टनरशीपमा काजुको तस्करी गर्ने गरेका छन् । चार वटा मोटरसाइकलमा एक ट्रिपमा ८ बाल्टीन (८० किलो) काजु ढुवानी गरी घण्टाघरसँगैको टाँगा स्टैण्डमा जम्मा जम्मा गरी पार्टी सम्म पुर्याउने गरेका छन् ।

    दिउँसो प्रायः सुनसान देखिने तस्करीका नाकाहरूमा राति १२.३० पछि बिहान ३.३० सम्म तस्करहरूको लाइन लागेको हुन्छ । भन्सारछलीका सामान सुन्दरपुर, अलौ, पन्टोका छठिया घाट, छपकैया, शिक्षा अफिस टाउन हल हुँदै गन्तव्यसम्म लैजाने गरेका छन् । त्यसैगरी इनर्वा गाउँ, भुटनदेवी मन्दिर भएर मुन्ना, शेखावत, जयलाल लगायतले तस्करीको लाइन पाएका छन् ।

    त्यस्तै भन्सार छली गरी सामान भित्र्याउने अर्का कारोबारी हुन् पशुपति यादव । जसलाई काजु एवं प्रतिबन्धित रेडबुलको किङ भनिन्छ उनले एकल रुपमा दैनिक ठूलो मात्रामा काजु र नेपालमा प्रतिबन्धित भारतीय रेड बुल भित्र्याइरहेको स्रोत बताउँछ । पशुपतिले छपकैया, सिर्सिया ड्राईपोर्ट र अलौ नाकाबाट दैनिक १ क्वीन्टल भन्दा बढी काजु र भारीमात्रामा रेडबुल एवं रजनीगन्धा भित्र्याउने गरेको स्रोतले जनाएको छ ।

    उता इनर्वा प्रहरी चौकीको नाकैमुनि रहेको दशगजा क्षेत्रमा अवैध रक्सी पसल संचालन गरेका शम्भुले नेपालबाट भारतमा रक्सी र भारतबाट सेटिङमै कपडाको ठूलो मात्रामा तस्करी गरिरहेका छन् । प्रहरी चौकी ड्राईपोर्ट सिर्सिया, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ, बोर्डर आउटपोस्ट ड्राईपोर्ट, बोर्डर आउट पोस्ट सिर्सिया, प्रहरी चौकी इनर्वा, सीमा प्रहरी चौकी छपकैया, प्रहरी चौकी भकुवा, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंज भंसार, प्रहरी चौकी इनर्वा गाउँसमेतको मिलोमतो नभई एउटा सियो पनि प्रवेश गर्न नसक्ने क्षेत्रबाट दैनिक अवैध रुपमा लाखौँको भन्सार छली गरी करोडौँको सामान भित्रिने गरेको प्रहरीले बीरगंजको भित्री नाकाबाट बरामद गर्ने तस्करीका सामानले पनि तस्करी भैरहेको पुष्टी गर्दछ ।

    यी तस्करहरूले सीमा क्षेत्रमा रहेका नेपाल र सशस्त्र प्रहरीका प्रहरी पोस्टमार्फत् जिल्ला एवं प्रदेश प्रहरी प्रमुखसम्मको भाग छुट्याएका कारणले पनि सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा आउन नसकेको देखिन्छ ।

    पर्सा प्रहरी प्रमुखमा यतिबेला प्रहरी उपरीक्षक कुमोध ढुंगेल छन् भने तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेन्न नसकेर सात महिनामा प्रधान कार्यालय तानिएका सशस्त्र प्रहरीका एसपी किसन कर्माचार्यको ठाउँमा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल आएका छन् । धिताल पर्सामा नयाँ भए पनि लामो समयदेखि पर्साको मज्जा लिएर बसेका सशस्त्र प्रहरीका अन्य दर्जाका प्रहरीहरू भने प्रशस्त छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार