Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रिय विभूति शंखधरको भव्य शालिक बनाउन महानगर तयार छः प्रमुख शाक्य


    मंगलबार, मंसिर ९ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल सम्बत् नेवार समूदायको मात्रै नभई सबै नेपालीको सम्बत् भएको बताउनुभएको छ । मध्यपुर ठिमीस्थित शंखधर चोकमा शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको भवनको उद्घाटन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका राष्ट्रिय विभूति साख्वाः को सम्मानमा शंखधर दिवसको अवसर पारेर उद्घाटन गरेको भवनले साख्वाःको योगदानलाई चिरस्मरणीय बनाउने पनि प्रमुख शाक्यले बताउनुभयो । ‘कतिपयलाई नेपाल सम्बत नेवार समूदायको मात्रै हो भन्ने भ्रम हुने गरेको छ,’ शाक्यले भन्नुभयो, ‘नेपाल सम्बत राष्ट्रिय सम्बत हो । यो सबै नेपालीको सम्बत भएकाले यसमा कसैले पनि भ्रम पाल्नु हुदैँन ।’ शाक्यले शंखधर राष्ट्रिय विभूति भएको भन्दै उहाँको सम्मान गर्नु भनेको आफ्नै देशको तिथि–मितिको सम्मान गर्नुभएको पनि स्मरण गराउँनुभयो ।

    ‘केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिकाले उल्लेखनीय योगदान दिएका वैभव व्यक्तित्व साख्वाःको अमर योगदानको सम्मान गर्दै ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरिसकेको छ,’ शाक्यले भन्नुभयो, ‘राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भन्ने हेतुले महानगरपालिकाले उहाँहरुको सम्मानमा शालिक निर्माण गर्दै आएको छ ।’ उहाँले साख्वाः मात्रै होइन जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पनि काठमाडौँ महानगरपालिकाले पूर्णकदको शालिक निर्माण गरिसकेको जानकारी दिनुभयो । ‘महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको छ,’ उहाँले भन्नुभयो, ‘धर्मभक्तको पुख्र्यौली टोल झोँछेमा पनि हामीले उनको नाममा पार्क र शालिक निर्माण गरेका छौँ ।’ प्रमुख शाक्यले साख्वाःको सम्मानमा उनलाई चिरकालसम्म सम्झनका लागि शालिक निर्माण होस भन्ने जनस्तरको चाहनालाई महानगरपालिकाले पूरा गर्ने अवसर प्राप्त गरेको पनि स्मरण गराउनुभयो ।

    जनस्तरको चाहना अनुसार हामीले शंखधरको शालिक निर्माण गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘शंखधर जस्तो राष्ट्रिय व्यक्तित्वलाई सानो ठाउँमा शालिक बनाएर राखियो भनेर कता–कताबाट गुसानो आएको पनि सुनेको छु । म उहाँहरुलाई अनुरोध गर्न चाहन्छु । राष्ट्रिय विभूति शंखधरको सम्मानका महानगरपालिकाले कुनै कन्जुस्याईँ गर्ने छैन । शंखधरको भव्य शालिक निर्माणका लागि उपयुक्त स्थान उपलब्ध कसैले गराउँछ भने हातेमालो गर्न र आर्थिक सहयोग गर्न महानगरपालिका तयार छ ।’ राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको उपलक्ष्यमा मंगलवार नै कामपा १५ वडास्थित लखुतीर्थमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि उहाँले त्यहि बताउनुभयो । शंखधरसँग जोडिएको उक्त लखुतीर्थलाई काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरी धार्मिक पार्कको रूपमा विकास गर्न लागेको छ । प्रमुख शाक्यले उक्त पार्क निर्माण भइसकेपछि शंखधर साख्वाःको थप सम्मान हुने अपेक्षा लिएको पनि बताउनुभयो ।

    भक्तपुरको कार्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा रहेको स्मरण गराउनुभयो । उहाँले नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको स्मरण गराउँदै उहाँको सम्मानमा सामुदायिक र प्रतिष्ठानको भवन निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

    श्रेष्ठले नगरपालिकाको ९० लाख, सांसद महेश बस्नेतको सांसद कोषबाट ५० लाख र शंखधर प्रतिष्ठानको तर्फबाट जन श्रमदानसहित १० लाख गरी एक करोड ५० लाखमा सो भवन उपभोक्ता समितिमार्फत निर्माण भएको जानकारी दिनुभयो । उहाँले भवनमा सूचना केन्द्र, संग्राहलय र हल रहने पनि बताउनुभयो । साख्वाःको इतिहास भक्तपुर र काठमाडौँसँग जोडिएको स्मरण गराउँदै उहाँले काठमाडौँ महानगरपालिकाको नगर–नगर साझेदारी कार्यक्रम अन्तरगतको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भैरहेको पनि जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले साख्वाःको सम्मानमा नगरपालिकाले गरेको सम्मानको तारिफ गर्नुभयो।

    shakya.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार