काठमाडौं । महोत्तरीमा ६ वर्षीया बालिका गुलाव साह खातुनको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा गोली चलेकाे छ।
प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने र अरु दुई घाइतेमा अफताब आलम र श्याम कार्की भएको स्थानीयले जानकारी दिएका छन् ।
कम्मरमुनी गोली लागेका उनको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ । ।बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको छैन । प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ ।