काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बरिष्ठताका आधारमा ३ महिनाअघि सरुवा गरेका ६० सहसचिवमध्ये ४ जना अझै पनि अटेर गरी बसेका छन् । सरकारले गरेको सरुवालाई चुनौती दिंदै उनीहरु खटाएको ठाउँमा गएका छैनन् । सामान्य प्रशासन मन्त्रालयले २०७७ भदौ ९ मा बरिष्ठताका आधारमा सहसचिवहरुलाई प्रदेशमा सरुवा गरेको थियो ।
सरुवा भएकामध्ये रमाना बुझेर खटाएको प्रदेशमा नजानेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, प्रधानमन्त्री कार्यालयका दिनेशकुमार घिमिरे, अर्थमन्त्रालयका श्रीकृष्ण नेपाल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयका भरतमणि सुवेदी छन् । भट्टराईको सरुवा कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा भएको छ । घिमिरेलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालय र श्रीकृष्ण नेपाल सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा भएको छ । सुवेदीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । सुवेदी लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट रमाना बुझी पर्यटनमा हाजिर हुन नआएका कारण लोकसेवा आयोगका सहसचिव खगेन्द्रप्रसाद सुवेदी हाजिर हुन जान पाएका छैनन् । उनी सामान्यले सरुवा गरेको कार्यालयमा जान चाहन्छन्, तर भरतमणि सुवेदीले रमाना नै नबुझेकाले उनी जान नपाएका हुन् ।
सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा खटिएका सहसचिव श्रीकृष्ण नेपाल नगएकाले उक्त मन्त्रालयको नेतृत्व शाखा अधिकृतले गर्नुपरेको छ । ४ जना सहसचिव निजामती सेवा नियमावली अनुसार तोकिएको समयभित्र खटाएको कार्यालयमा नगएमा विभागीय संजाय हुने ब्यवस्था छ । तर यी ४ सहसचिव शक्तिशाली मन्त्री र प्रधानमन्त्रीसम्म पहुँच छ भनेर सरुवा भएको कार्यालयमा जान मानिरहेका छैनन् । सरुवा भएको प्रदेशमा जान अटेर गर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालका सचिव गोपाल सिग्देल पनि हुन् ।
निजामती सेवा नियमावली २०५० को दफा ३९ मा स्पष्टसँँग कर्मचारीले सरुवा भएको कार्यालयमा जानुपर्ने ब्यवस्था गरेको छ । सरुवा भएको कार्यालयमा हाजिर नभई अर्को कार्यालयमा जान नपाउने ब्यवस्था गरिएको छ । तर नियमावली अनुसार हाजिर हुन नगई सहसचिवहरुले सरकारलाई चुनौती दिएका छन् । निजामती सेवा नियमावली २०५० को दफा ३९ मा उल्लेख छ–‘ कुनै पनि निजामती कर्मचारी सरुवा भएको कार्यालयमा रमानापत्रमा तोकिएको समयभित्र हाजिर हुनु जानुपर्नेछ । कुनै पनि निजामती कर्मचारीलाई सरुवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरुवा गरिनेछैन । यसरी निर्धारित समयभित्र हाजिर हुन नजाने निजामती कर्मचारीलाई विभागीय कारबाही हुनेछ । सरुवा भएको निकायमा नगएर सहसचिवले निजामती सेवा नियमावलीको मर्म र भावना विपरीत काम गरिरहेका छन् । सरकारी निर्णय नै नमानी खुलेआम चुनौती दिइरहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयले सहसचिवको सरुवा गर्दा बरिष्ठतालाई आधार मानी गरेको थियो । प्रदेशमा बरिष्ठ सहसचिवहरु जान नमानेको गुनासोपछि सरकारले बरिष्ठताका आधारमा सरुवा गर्ने नीति बनाएको छ । तर मन्त्री र प्रधानमन्त्री वा मुख्यसचिवसँग राम्रो सम्बन्ध भएकै आधारमा सरकारको सरुवा निर्णय पालना नगरी चुनौती दिने केही सहसचिवका कारण ऐन नियमकै धज्जी उडेको छ ।