Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रौतहटको गरुडाका मेयर सहित कर्मचारी भारत भ्रमणमा,सेवाग्राही मारमा


    बुधबार, बैशाख ५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • एल्जन पहाडी

    रौतहट । जिल्लाको गरुडा नगरपालिकाका मेयरसहित ३० जनाको टोली भारत भ्रमणमा हिँडेपछि नगरपालिकाको दैनिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीयको गुनासो रहेको छ ।

    मेयर कन्थमणिप्रसाद कलवार, उपप्रमुख पुनम कुमारी चौधरी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर परिषद सदस्यहरुसहितका तीन दर्जनको जम्बो टोली भ्रमण हिँडेपछि दैनिक कामकाजमा समस्या भएको गरुडाका सेवाग्राही दीनानाथ सहनीले गुनासो गरे  ।

    जनप्रतिनिधिहरु नै नगरपालिका र वडा कार्यालयमा नभएपछि सेवा प्रवाहमा समस्या भएको उनको भनाइ रहेको छ । रोचक कुरा त के छ भने सो नगरपालिकाका मेयरबिरुद्ध आन्दोलनमा उत्रेकी उपमेयरसमेत हिसावकिताव मिलेपछि मेयरसँगै धार्मिक भ्रमणमा निस्केकी हुन् । उपमेयर पुनमकुमारी चौधरीले मेयरले नगरपालिकाको रकम हिनामिना गरेको भन्दै केही समय पहिला नगरपालिकाको मूलगेटमा ताला लगाएर धर्नामा बसेकी थिइन् ।

    अहिले नगरपालिकाका सबै जनप्रतिनिधि धार्मिक भ्रमणको नाममा झोलितुम्बा बोकेर भारततिर लागेपछि अहिले गरुडा नगरपालिकाको कार्यालय सुनसान देखिएको छ । यहाँका जनप्रतिनिधि र कर्मचारी  भ्रमणका लागि जिल्ला बाहिर मात्र नभई छिमेकी मुलुक भारतमा पुगेका छन् । उनीहरु तिर्थयात्रा भनी भारतको हरिद्वार, अयोध्या लगायतका ठाउमा तिर्थ भ्रमणमा पुग्ने योजना रहेको भ्रमण दलका एक सदस्यले बताए ।

    नगरपालिकाका जनप्रतिनिधिसहित कर्मचारी र सदस्यहरुको टोली भ्रमणमा गएको हो ।  टोली नै एकैपटक भ्रमणमा निस्किएपछि नगरपालिकाको दैनिक काम प्रभावित भएको छ । नगरपालिकामा विभिन्न कामले आउने सेवाग्राही यतीबेला नगरपालिकाबाट रित्तो हात फर्कन बाध्य भएका छन् ।

    जनप्रतिनिधि नभएपछि नगरपालिकाको प्रबिधिक, स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकास लगायत शाखाका कर्मचारीहरुसमेत मोबाईल चलाएर दिन बिताउँदै देखिन्छन् । अहिले नगर प्रमुख कलवारसहितका टोली भारत पुगेका छन् ।

    गरुडा नगरपालिका प्रमुख कन्थमणि कलवारसहित नगरको टोली भारतका बिभिन्न धार्मिक तिर्थस्थल भ्रमणका लागि ६ लाख खर्च गरेर भारतको अयोध्यासम्म पुग्न लागेको स्रोतको भनाइ रहेको छ । रामनवमी पर्व परेर नगरप्रमुख कलवारले कार्यपलिकाका असन्तुष्ट पक्षलाई  तिर्थस्थलको भ्रमण गराएर खुशी पार्न खोजेको आरोप स्थानीयको रहेको छ । न्यूज कारखाना

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार