Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भूमि आयोगको अध्यक्ष हुन देवी ज्ञवालीदेखि शान्ता चौधरीसम्मको दौडधूप


    शनिबार, चैत्र १७ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले खारेज गरेको भूमि आयोग गठन नहुँदै अध्यक्ष नियुक्तिका एमाले र माओवादीका नेताहरुको लर्को लागेको छ । गएको चैत ८ गते भूमि आयोग खारेज गरेपछि नयाँ आयोग गठन प्रक्रिया तत्कालै थाल्न भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सरकारले निर्देशन दिएको थियो । मन्त्रिपरिषदले भूमि आयोग गठन नगर्दै अध्यक्ष हुन चाहनेहरु दौडधूपमा लागेका छन् ।

    आयोगको अध्यक्ष हुनका लागि पूर्वअध्यक्ष देवी ज्ञवाली, एमाले नेतृ शान्ता चौधरी र अर्का एमाले नेता लक्ष्मण ज्ञवाली लागेका छन् । यसअघिका आयोगका उपाध्यक्ष नहेन्द्र खड्का आफूले पाउनुपर्ने दाबीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अनुनय बिनय गरिरहेका छन् । उनी यसअघि उपाध्यक्ष भइसकेकाले अध्यक्ष आफैं हुनुपर्ने उनको माग छ ।

    भूमिब्यवस्था मन्त्रालय एमालेकै भागमा परेको र सत्ताघटकमा ठूलो दल भएकाले आयोगको अध्यक्ष संभवतः सोही पार्टीका नेताहरुले पाउने संभावना छ । देवी ज्ञवालीले यसअघि अध्यक्ष हुँदा पूरा कार्यकाल काम गर्न नपाएकाले अधुरा काम पूरा गर्न मौका पाउनुपर्ने माग एमाले अध्यक्ष ओलीसँग गरेका छन् । उनी केपी शर्मा ओली अध्यक्ष हुँँदा तत्कालीन भूमि समस्या समाधान आयोगका अध्यक्ष थिए । ज्ञवालीलाई अध्यक्ष बनाउन प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक रहेको बताइन्छ ।

    चितवनबाट २०८४ मा छोरी रेणु दाहाललाई प्रतिनिधिसभामा उम्मेदवार बनाउनका लागि वातावरण बनाउन पनि देवी ज्ञवालीलाई अध्यक्ष बनाउन प्रधानमन्त्री सकारात्मक रहेको स्रोतको दाबी छ । भरतपुर महानगरपालिकामा मेयरका रुपमा विकास निर्माणका कारण जनताको मन जितेकाले आगामी प्रतिनिधिसभामा उम्मेदवार बन्ने योजनामा रेणु छिन् । प्रधानमन्त्री छोरीलाई स्थापित गर्न चाहिरहेकाले पनि आयोगको अध्यक्ष पद देवी ज्ञवालीले नै बाजी मार्ने निश्चित देखिएको छ । देवी ज्ञवाली गएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ प्रदेश (ख) बाट नेपाली कांग्रेसका उत्तम जोशीसँग प्रदेश सांसदमा पराजीत भएका थिए ।

    यसअघि सर्वोच्च अदालतले २०७८ असार २८ मा दिएको परमादेशपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त आयोग खारेज गरेको थियो । र, भूमि आयोग गठन गरी केशव निरौलालाई अध्यक्ष बनाएका थिए ।

    शान्ता चौधरी मुक्त कमैयाको जीवन भोगिसकेकाले भूमिहीनको पीडा बुझेको भन्दै नियुक्ति हुने दाउमा छिन् । चौधरी २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दाङ १ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीसँग पराजीत भएकी थिइन् ।

    एमाले उपाध्यक्ष युवराज ज्ञवालीका भाइ लक्ष्मण ज्ञवाली पनि अहिलेसम्म अवसर नपाएकाले आयोगको अध्यक्ष हुने लबिङमा छन् । उनी २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट नेपाली कांग्रेसका संजय गौतमसँग पराजीत भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार