Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतमा २ न्यायाधीश रिक्त, बैशाखमा अर्काे पद रिक्त हुँदै


    सोमबार, चैत्र १२ २०८०
    2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतमा २ न्यायाधीश पद रिक्त भएका छन् । गएको मंसिर ५ मा ७ न्यायाधीश रिक्त भएकोमा ६ जनामात्र नियुक्ति भएका थिए । एक पद खाली राखिएको थियो ।

    २३, फागुन २०८० मा न्यायाधीश इश्वर खतिवडा अवकाश भएसँगै सर्वोच्च अदालतमा २ न्यायाधीश पद रिक्त हुन पुगेका छन् । आगामी बैशाख २३ गते न्यायाधीश सुष्मालता माथेमा पनि अवकाश हुँदैछिन् । उनी अवकाशको १ महिनाअघि नै चैत २३ मा बिदामा बस्ने संभावना पनि छ । यदि उनी बिदामा बसेमा न्यायपरिषदललाई ३ वटै न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने मार्गप्रशस्त खुल्नेछ ।

    सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशका साथै कानुन ब्यवसायीहरुलाई पनि ल्याइन्छ । यसअघि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना उच्च अदालतबाट सर्वोच्चको न्यायाधीशमा ल्याइएका थिए । कानुन ब्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकाललाई ल्याइएको थियो । त्यतिबेला महान्यायाधीवक्ता दीनमणि पोखरेललाई सर्वोच्चको न्यायाधीश बनाउनकै लागि एक पद रिक्त राखिएको चर्चा भए पनि अहिलेसम्म नियुक्ति हुन सकेको छैन ।

    मुख्य न्यायाधीश भएको ३ बर्षसम्म पनि नृपध्वज निरौला सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा पर्न सकेका छैनन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौलाले न्यायपरिषदको सचिव हुँदा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाशको डेढ महिनाअघि नै अवकाशपत्र थमाएका थिए । त्यही कारण पनि उनलाई न्यायाधीश नियुक्ति हुन नदिएको चर्चा पनि हुँदैआएको छ । टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीलगायतलाई उच्च अदालतको मुख्य न्यायाधीशबाटै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गरियो, तर निरौलालाई मुख्य न्यायाधीश भएको ३ बर्षसम्म पनि सर्वोच्चमा आउन दिइएको छैन ।

    पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्ना भान्जीज्वाईँ नाता पर्ने नहकुल सुवेदीलाई न्यायपरिषदको सचिवबाट सर्वोच्च अदालतको मुख्य रजिष्टार, उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्च अदालतको न्यायाधीश बनाए । शक्तिको आडमा फाष्टट्रयाकमा सुवेदीलाई ल्याइएको थियो । ‘अब हुने न्यायाधीश नियुक्ति सिफारिसमा पनि महान्यायाधीवक्ता पोखरेल र कानुन ब्यवसायीबाट ल्याएमा निरौलामाथि घोर अन्याय हुनेछ’– एक कानुन ब्यवसायीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार