भरतपुर । चेपाङ गाउँ हपनीमा एका बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको त्यो एम्बुलेन्सले उठाउँछ । बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले यहाँका स्थानीयको जीवनमा परिवर्तन ल्याउन थालेको छ ।
एम्बुलेन्स हर्न बजाउँदै गाउँ उक्लिएपछि गाउँलेले आफूसँग भएको उत्पादनलाई सडकसम्म ल्याउँछन् । गाउँलेको सामान लोड गरेपछि एम्बुलेन्स बजार झर्छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा दिएको कृषि एम्बुलेन्स हपनीका चेपाङ समुदायका लागि आयस्रोतको सजिलो माध्यम कृषि एम्बुलेन्स बनेको छ ।
कृषि एम्बुलेन्स चालक दीपककुमार प्रजाले बिहानै ४ बजे उठेर हपनी, माझखर्क ओल्याङबाट किसानको तरकारी फलफूल र अन्य सामग्री गाडीमा लोड गरेर फिस्लिङ, मौवाखोला, शक्तिखोर, टाँडीलगायत बजारसम्म लैजाने गरेका छन् । दिनभर किसानका सामान बेचेपछि उनी साँझ गाउँ फर्किन्छन् र किसानको आम्दानी बुझाउँछन् ।
“सबै सामान आफैँ बिक्री गरिदिने गरेका छौँ”, उनले भने, “साँझ भाडा कटाएर बाँकी रहेको पैसा किसानलाई बुझाउने गरेको छु । यसले गाउँलेलाई सहज भएको छ ।” कृषि एम्बुलेन्स चलाउन थालेपछि गाउँमा परिवर्तन आएको दीपकले बताए ।
“गाउँका सबै सामान बजार लगेर बिक्री गर्न पाइएको छ, डोकोमा बोकेर घन्टौँ हिँड्नुपर्ने बाध्यता हटेको छ”, उनले भने । गाउँमा उत्पादन भएका तरकारी, फलफूल, डोको नाङ्लोलगायत सबै उत्पादन बिक्रीका लागि बजार लैजाने गरेको उनले बताए । यहाँ उत्पादन हुने फलफूल र तरकारी प्रायः अर्गानिक हुने गरेको उनले बताए ।
“गाउँका खसी बोका पनि यही एम्बुलेन्समा राखेर बिक्रीका लागि लैजाने गरिएको छ । अघिल्लो महिना चार पाँच टिप खसीबोका बजार लग्यौं”, चालक प्रजाले भने, “ ५५० रुपैयाँ केजीका दरले गाउँबाटै खसीबोका बिक्री हुने गरेको छ ।” उनले गाउँमा एम्बुलेन्स सञ्चालन भएपछि धेरै किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेको बताए । किसानको कामअनुसार आफू गाउँपालिकाका अन्य वडामा समेत कृषिजन्य सामग्री बोक्नका लागि जाने गरेको बताउँदै उनले प्रायः समय खाली बस्न नपरेको बताए । गाउँमा कृषि एम्बुलेन्स सञ्चालन भएको छ महिना भएको भन्दै उनले अहिले सबै घर कृषि उत्पादनमा जोडिएको बताए ।
गाउँबाटै सबै सामान बिक्री हुने भएपछि हातमा सीप भएकाहरूले डोको नांलो बुन्ने गरेका छन् । हपनी कृषक समूहको अध्यक्ष टेकबहादुर चेपाङ कृषि एम्बुलेन्सले गाउँलेलाई उत्साहित र जाँगरिलो बनाएको बताउँछन् । “सबै गाउँलेको मागअनुसार नै गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा एम्बुलेन्स खरिद गरेका हौँ”, उनले भने, “अहिले सबैजान खुसी हुनुहुन्छ ।” पहिले गाडी नहुँदा फिस्लिङसम्म बोकेर नै तरकारी फूलफूल बिक्रीका लागि लैजाने गरेको उनी बताउँछन् ।
“अरुको गाडी भनेको समयमा नआउने र सामन भनेको ठाउँमा नपुर्याउने समस्या थियो”, अध्यक्ष टेकबहादुरले भने, “गाउँमै गाडीवालाको बार्गेनिङले मूल्य नपाउने समस्या थियो ।” अहिले आफ्नै गाडीले सामान लैजादा बजार र मूल्यको समेत चिन्ता नरहेको उनले बताए । समूहमा ३५ घरधुरी आबद्ध छन् । यहाँका ५३ घरधुरीमध्ये आधा बढी सहकारीमा आबद्ध रहेको र अन्य पनि आबद्ध हुने तयारीमा रहेको टेकबहादुरले जानकारी दिए ।
हपनीका कृषक पदमबहादुर चेपाङ यस वर्ष सखरखण्ड, तरुललगायत कृषि उत्पादन बिक्री गरेको बताए । कृषि एम्बुलेन्स (बोलेरो) चलेपछि धेरै सहज भएको भन्दै उजले आफ्नै गाउँठाउँका दाजुभाइले घरबाटै सामान लगेर घरमै पैसा ल्याइदिने गरेको बताए । “उत्पादन गरे बजारको चिन्ता छैन, आजभोलि खेती किसानी गर्न पनि जाँगर लागेको छ”, उनले भने, “पछिल्लो समय गाउँमा बाँदरले खेतीबाली नष्ट गर्ने समस्या भने छ ।”
गाउँबाटै कृषि एम्बुलेन्स चलेपछि स्थानीयले उत्पादन गरेको दुई मुठा सागले पनि बजार पाएको स्थानीय अगुवा शेरबहादुर प्रजा बताउँछन् । “पहिलेपहिले पनि उत्पादन गर्थ्यौं । तर, अरुको गाडी बोलाउँदा आनाकानी गर्ने, भाडा महँगो भन्नेजस्ता समस्या थियो”, उनी भन्छन्, “त्यस्तो अवस्थामा थोरै उत्पादन गर्ने किसानको उपजले बजार पाउनै मुस्किल थियो । अहिले त्यस्तो अवस्था छैन । दुई किलो सखरखण्डले पनि बजार पाएको छ ।” उनले एम्बुलेन्स सञ्चालन पछि गाउँमा काम गर्ने र उत्पादन गर्ने प्रतिस्पर्धा चलेको बताए ।
वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङका अनुसार करिब पाँच वर्षदेखि यहाँका किसानले व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएका छन् । गाउँलेले गोलभेँडा, रायो, स्कुस, धनियाँ, तरुल, सखरखण्ड, पिँडालु, केराउ, सिमीलगायतका तरकारी खेती उत्पादन गर्दै आएका छन् । ती सबैले राम्रोसँग बजार पाउँदा त्यसले समग्र गाउँलाई नै फाइदा पुगेको उनको भनाइ छ ।
गाउँपालिकाले किसानको आवश्यकताअनुसार मल र बिउमा ५० प्रतिशत अनुदान दिँदै आएको वडाअध्यक्ष चेपाङले जानकारी दिए । वडा नं २ मा हपनीसहित मैतेस, माझखर्क, हुस्ती, तल्लो काउले, माथिल्लो काउले, थापाथली, तोलाङ, छापडाँडालगायतका गाउँमा व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका छन् ।
तरकारीखेतीका आलवा बाख्रापालन, चोयाको सामग्री बनाउनेजस्ता कार्यमा समेत यहाँका चेपाङ समुदाय अग्रपङ्क्तिमा रहेको उनले बताए । किसानको आवश्यकताअनुसार गाउँमा पुगेको कच्ची सडकलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष पञ्चबहादुरले बताए ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ हपनी उदाहरणीय चेपाङ गाउँ बन्दै गएको बताउँछन् । उनले यहाँका चेपाङ समुदायको आयस्तर उकास्न र उनीहरुलाई व्यावसायिक बनाउन गाउँपालिकले एम्बुलेन्स उपलब्ध गराएको बताए । अन्य ठाउँबाट पनि एम्बुलेन्सको माग हुँदाहुँदै पनि चेपाङ समुदायको बस्ती रहेको क्षेत्रलाई प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराएको उनले जानकारी दिए ।
गाउँपालिकाले यस वर्ष दुई वडामा एक एकवटा कृषि एम्बुलेन्स दिने तयारीमा रहेको बताए । वडा नम्बर १ को सिराइचुली कृषि सहकारी हात्तीबाङ र वडा नं ७ को दाहाखानीस्थित लालीगुँरास कृषि समूहलाई कृषि एम्बुलेन्स दिने तयारी गरिएको छ । एउटा पनि बोलेरो गाडी नभएको ठाउँलाई लक्षित गरेर कृषि एम्बुलेन्स दिन लगिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend