Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घटस्थापनादेखि खुल्ने भए काठमाडौंका शक्तिपीठहरु


    बुधबार, असोज २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरू घटस्थापनाका दिनदेखि खुल्ने भएका छन् । यो वर्ष कार्तिक १ गते घटस्थापना परेको छ । 

    काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपीठहरु १ कात्तिकदेखि खुल्ने भएका हुन् । दसैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठ खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । 

    मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दसैँको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए । विभिन्न गुठियारहरूको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने बताए ।

    तर सरकारबाट अहिले सम्म कुनै निर्णय आइनसकेको उनले बताए । तरपनि स्थानीय भक्तजनको आग्रहमा १ कात्तिकदेखि धेरै भीड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताए । गुठियारहरूसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए ।

    कोभिड-१९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुलका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो ।

    यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपीठहरुमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ । अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिले सम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन् । तर, अधिकांश मन्दिरहरु कात्तिक एक गते देखि सीमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार