Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मधेशमा सशस्त्रको अनुगमनः टोलीमा विवादित एसपीको नेतृत्वमा बदनाम घुमुवा


    बुधबार, कार्तिक २२ २०८०
    4.2K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । दशैंअघि सिरहामा भन्सारछली गरी भित्र्याइएका करोडौंका सामान राजस्व अनुसन्धान कार्यालय इटहरीले बरामद गरेपछि सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले मधेश लगायतका लुम्बिनी र सुदूरपश्चिमका सीमा नाकामा अनुगमन गर्ने क्रमलाई तीव्रता दिएका छन् ।

    सशस्त्र मुख्यालयले महोत्तरी र धनुषाका केही अधिकृतलाई सीमानाकाबाट भन्सारछलीका सामान ओसारपसार नियन्त्रण गर्न नसकेको आरोपमा तानेको छ । त्यस तानिएकाहरुमा महोत्तरीको भिट्टामोड गुल्म, रघुनाथपुर, सम्सीका सशस्त्र प्रहरीका इन्चार्ज छन् । तानिनेहरुमा भिट्टामोडका डीएसपी गोविन्द पोखरेल, सम्सीका इन्स्पेक्टर कमलप्रसाद पौडेल लगायत छन् ।

    धनुषाको महिनाथपुर गुल्मका डीएसपी प्रेमसागर बिष्ट, धनौजी बिओपीका इन्स्पेक्टर रविन्द्र भट्ट पनि तानिएका छन् । धनुषाकै डेबडिहा बीओपीका इन्स्पेक्टर प्रेमसिंह बिष्ट पनि तानिएका छन् ।
    २०८० कात्तिक २ मा बनेपामा ९२ बोरा तस्करीको चिनी बरामद भएको थियो । उक्त चिनी महोत्तरीबाटै आएको आशंकामा उनीहरुलाई तानिएको बताइएको छ ।

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरूपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

    सिरहा प्रकरणपछि आइजीपी गम्भीर

    राजस्व अनुसन्धान कार्यालय इटहरीले मधेश प्रदेशको सिरहामा दशैंअघि करोडौं मूल्यबराबरका भन्सारछलीका लत्ताकपडा बरामद गर्यो । सशस्त्र प्रहरी ७ नम्बर गणका एसपी प्रमोद भारतीकै सेटिङमा भन्सारछलीका लत्ताकपडा सिरहाका भारतसँग सीमा जोडिएका ठाडी, माडर लगायतका नाकाबाट भित्रिएको सूचनापछि राजस्व अनुसन्धान कार्यालयले बरामद गरेको थियो । राजस्वले भन्सारछलीका लत्ताकपडा बरामद गरेपछि सशस्त्र प्रहरीले सिरहाका एसपी प्रमोद भारती र माडर गुल्मका डीएसपी रामहरि कार्कीलाई बाहिनीमा तानिसकेको छ ।

    भन्सारछलीको अनुगमनमा खटिएको टोली नै विवादमा

    मधेश प्रदेशमा भन्सारछली तस्करीका सामान भित्रदा भन्सार राजस्व असुलीमा असर परेको गुनासो आएपछि सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले सचिवालयका एसपी भानुभक्त लम्सालको नेतृत्वमा अनुगममा पठाएका छन् । तर अनुगमनमा सत्पात्रहरु कम, बदनामहरुलाई पठाएपछि टोली नै विवादमा परेको छ । सीमा विभागका डीआईजी गणेश ठाडामगर र एसपी लम्सालले विगतमा घुमुवाका रुपमा तस्करसँग सेटिङ मिलाउनेहरुलाई लगेपछि टोलीमा लगेपछि विवादमा परेको हो ।

    विगतमा मधेश प्रदेशका जिल्लामा तत्कालीन डीआईजी गणेश ठाडामगरका घुमुवाका रुपमा बदनाम भएकाहरुलाई लगिएको खुलेको छ । लम्सालको टोलीमा तस्करहरुसँग सेटिङ गरी अकूत सम्पत्ति कमाएको उजुरीपछि आइजीपी राजु अर्यालको बदनाम घुमुवा हटाऊ अभियानमा इलाममा सरुवा भएका सहायक हवल्दार इमाम आलम, महोत्तरीबाट २० नम्बर गण सिनामंगलमा तानिएका सहायक हवल्दार सन्तोष यादव, बाराबाट नुवाकोटमा सरुवा भएका सहायक हवल्दार सुनिल यादव पनि गएका थिए । मधेश प्रदेशका तत्कालीन डीआईजी गणेश ठाडामगरले धनुषामा घुमुवाका रुपमा खटाएका र आइजीपीको अप्रेसनमा भक्तपुरको खरिपाटीमा सरुवा गरिएका राजीव यादव पनि अनुगमन टोलीमा छन् ।

    इमाम इलाममा सरुवा भए पनि नगई नक्कली बिरामी भएको बहाना बनाई सशस्त्र प्रहरी अस्पतालमा काजमा छन् । बिरामी भनेर महिनौंदेखि दरबन्दीमा नगई अस्पतालमा काजमा बसेका इमाम लम्सालको टोलीमा कसरी राखिए ? इमाम, सन्तोष र सुनिल जस्ता बदनाम र विवादितलाई अनुगमन टोलीमा राख्ने काम सीमा बिभागका डीआईजी गणेश ठाडामगरले गरेको स्रोत बताउँछ ।

    सशस्त्र मुख्यालयबाट अनुगमनमा लम्सालसँग गएका इमाम आलम र सन्तोष यादवले महोत्तरीको सम्सीमा गृहणीहरुले ल्याएको पूजाका सामान लगायतको २०–२५ हजारको सामान बरामद गरेपछि टोली विवादमा परेको हो । सम्सीमा जनप्रतिनिधि नै आएर रघुनाथपुरका डीएसपीलाई बोलाएर इमाम आलम र यादवको सोधीखोजी गरेपछि उनीहरु मुख्यालयबाट आएको कुरा बाहिनीबाट खुलेको थियो ।

    बाहिनीबाट अनुगमनमा आएको खुलेपछि उनीहरुलाई बल्लतल्ल उम्किन सहज भएको थियो । अन्ुगमनको नेतृत्व गर्ने एसपी भानुभक्त लम्साल पनि विगतमा तस्करीमा मुछिएका अधिकृत हुन् । २०७६ मा नवलपसारी (पूर्व)को गैँडाकोट नगरपालिका–१०, पितौजीस्थित सशस्त्र प्रहरीको ३१ नम्बर गुल्मको गुल्मपति हुँदा तस्करीका सामान भनेर बरामद गरेका सामानहरु बेच्ने गरेको आरोप उनीमाथि लागेको थियो ।

    सशस्त्र प्रहरीले मधेशमा अनुगमन टोली पठाउनु सकारात्मक हो । तर अनुगमन टोलीमा पठाइएकाहरुमा तस्करसँग सेटिङ भएकाहरुकै बाहुल्यता हुनुले उनीहरुले कस्तो अनुगमन गर्लान् ? यो प्रश्न भने उठेको छ । आईजीपी अर्यालले असल नियतका साथ अनुगमन टोली पठाउने निर्देशन दिए पनि प्रशासन विभागका प्रमुख एआइजी चन्द्रप्रकाश गौतम र सीमा विभागका डीआईजी गणेश ठाडामगरले विवादितहरुलाई खटाएको आरोप छ ।

    विगतमा बदनाम भई कारबाहीस्वरुप तानिएका घुमुवाहरु इमाम आलम, राजीव यादवहरुको सेटिङका तस्करहरुको सामान बरामद गरेकै कारण पनि अनुगमन टोलीका प्रमुख एसपप् लम्सालले कतिपय सशस्त्रका अधिकृतलाई गलत रिपोर्ट दिएर तान्न लगाएको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार