Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा आज राति १२ बजेसम्म मदिरा बिक्री वितरण गर्न नपाइने


    बुधबार, कार्तिक ८ २०८०
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। बाँके जिल्लामा आज (बुधबार) मदिरा बिक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ ।

    बडादसैँको भोलिपल्ट निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै मदिरा बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको हो ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको उल्लेख छ ।

    सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । प्रशासन कार्यालयले दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ ।

    दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

    बाँकेमा बडादसैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा विसर्जन गर्ने परम्परा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार