काठमाडौँ। दसैं आम हिन्दुहरूको महान चाड हो। अझ यो देश विदेशमा रहने सम्पूर्ण हिन्दुहरूको विशेष पर्व पनि हो । दशैं पर्व अर्थात विजया दशमी जसलाई आयुध-पूजा पनि भन्ने प्रचलन छ।
यसैगरी दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले हरेक वर्ष पुरानो नोटसँग नयाँ नोट साट्दै आएको छ । दसैंको समयमा सहरदेखि गाउँसम्म नयाँ नोट नै प्रयोग गर्ने चलन छ।
बडादसैंंमा टीका, जमरा र आशीर्वादसँगै दक्षिणास्वरूप नयाँ नोट दिने चलन सामान्य भएकाले सबैले नयाँ नोटमा चासो राख्छन् । यसकारण, नयाँ नोट साट्न बैंकमा सर्वसाधारणको लाइन लाग्ने गर्छ । दसैंमा नयाँ नोट लिने/दिने र साट्ने एउटा चलन नै बनिसकेको छ। लामो समयदेखि देशव्यापी रूपमै यो चलन चलेको पाइन्छ।
त्यस्तै राष्ट्र बैंकले यसपटकको दसैंका लागि असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने व्यवस्था गरेको छ।
एक व्यक्तिलाई १८ हजार पाँच सय रूपैयाँसम्म नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ। सर्वसाधारणले पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्मका एक–एक प्याकेट नयाँ नोट पाउने छन्।
यसरी सटही गर्न दसैंका लागि मात्रै राष्ट्र बैंकले करिब १० अर्ब रूपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ।
विगतका दसैंहरूमा सात/आठ अर्ब रूपैयाँ बराबरका नयाँ नोट बजारमा साटिएका थिए।
आखिर दसैंमा नयाँ नोट साट्ने चलन कसरी सुरू भयो? राष्ट्र बैंकले पनि दसैंकै लागि भनेर किन छाप्न थाल्यो होला नयाँ नोट?
यो बुझ्न नेपालमा मुद्रा प्रचलनसम्बन्धी इतिहास केलाउनुपर्ने हुन्छ।
तत्कालीन प्रधानमन्त्री जुद्ध समशेरले २००२ असोज १ गते एउटा अध्यादेश जारी गरेका थिए। त्यस अध्यादेशमार्फत सदर मुलुकी खानाबाट नेपाली नोट जारी गर्ने र प्रचलनमा ल्याउन सकिने व्यवस्था गरे।
फलस्वरूप त्यही समयदेखि ५, १० र एक सय रूपैयाँका नोट छापियो र चलनचल्तीमा ल्याएको राष्ट्र बैंकको विशेष प्रकाशन ‘सिक्स्टी इयर्स अफ नेपाल राष्ट्र बैंक’ मा उल्लेख छ।
‘तर यी नोट काठमाडौं उपत्यका र सीमित केही पहाडी जिल्लामा मात्रै चलनचल्ती आए,’ उक्त प्रकाशनमा लेखिएको छ।
दस्तावेजहरूका अनुसार त्यतिखेरसम्म दैनिक र सरकारी कारोबार समेत भारतीय मुद्रामै हुन्थ्यो। त्यतिखेर नेपाल बैंक मात्रै सञ्चालनमा थियो। बिक्रम सम्वत् १९९४ कात्तिक ३० गते नेपाल बैंक स्थापना भएको थियो। बैंकमा सर्वसाधारणले खोलेका बचत खाताहरूमा रकम जम्मा गर्दा समेत भारतीय मुद्रामै हुन्थ्यो।
पहिलो पटक छापिएका नेपाली नोटहरूको प्रचलन पनि खासै बढ्न सकेन। भारतीय मुद्राको यही दबदबा कम गर्ने उद्देश्यले २०१३ साल वैशाखमा नेपाल राष्ट्र बैंक स्थापना गरियो।
मुख्य उद्देश्य नेपाली मुद्राको यथोचित व्यवस्थापन र प्रचलन बढाउनु थियो। सदर मुलुकी खानाले छापेको नेपाली मुद्राको दायित्व सबै नेपाल राष्ट्र बैंकले लियो। र, पहिलो पटक नेपाल राष्ट्र बैंकबाट २०१६ फागुन ७ गते एक, पाँच, दस र सय रूपैयाँको नोट छापियो।
सरकारले २०१७ साल जेठबाट मुलुकभित्रको कारोबारमा नेपाली मुद्राको मात्रै प्रयोग गर्ने निर्णय गर्यो।
त्यतिखेरदेखि नै छापिएका नयाँ नोट दसैंमा साट्ने सुविधा दिइएको हो।
दसैं र तिहारजस्ता चाडबाडमा कारोबार र उपभोगमा वृद्धि हुन्छ। दसैंमा अर्थतन्त्र सहरबाट गाँउतिर सर्ने मानिन्छ। त्यसैले यही समय पारेर नयाँ नोट जारी गर्दा नेपाली नोटको प्रयोगमा व्यापकता आउने ठानिएको थियो। त्यतिखेर गरिएको यस्तो सुरूआतले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो योगदान पनि गर्यो।
त्यो समय चाडबाडलाई जोडेर यसरी चलाइएको चलनले नै अहिलेसम्म निरन्तरता पाइरहेको हो।
नेपाली चाडबाड र रीतिरिवाजकै कारण पनि नेपाली नोटहरूको आयु चाँडो सकिने गरेको छ। चाडबाड र पूजामा नोटको प्रयोग हुँदा चाँडै मैलो हुने, च्यातिने, झुत्रा पर्ने गरेको छ।
यसरी दसैंमा बाहिरिएका नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमै फर्किन्छन्। आर्थिक वर्ष २०७८/७९ मा मात्रै राष्ट्र बैंकले चार अर्ब ४५ करोड रूपैयाँ बराबरका पुराना नोट जलाउनका लागि पठाएको थियो।
पछिल्लो समय भने राष्ट्र बैंकले पुराना नोटबाट खाना बनाउन प्रयोग हुने ब्रिकेट समेत बनाएर बिक्री गर्ने गरेको छ।
चलनचल्तीमा रहेका पाँच र दस रूपैयाँका नोट धेरै चाँडो पुरानो हुने गरेको छ। यस्ता नोटको आयु लगभग तीन वर्ष मात्रै हुन्छ।
राष्ट्र बैंकले हाल एक र दुई रूपैयाँका नोट निष्कासन गर्न छाडेको छ। दसैंमा नयाँ नोटका रूपमा पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्मका साना दरका नोट साट्न प्रयोग गरिरहेको छ।
कम खपत हुने पाँच सय र एक हजार दरका नोटको आयु भने सरदर पाँच वर्ष रहने गरेको छ।
औसतमा सबै खाले मुद्रा छाप्न दुई रूपैयाँ ५० पैसा लाग्छ। त्यसैले नोटको जतन गर्न समेत राष्ट्र बैंकले सुझाउने गरेको छ। त्यसबाहेक चलनचल्तीमा रहेको नोट जलाउन, केरमेट नगर्न समेत आग्रह गर्दै आएको छ। नोट बिगारेमा तीन महिनासम्म जेल र ५ हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था समेत छ।
तर, चाडपर्वमै नोट धेरै मैलो हुने, बिग्रिने र च्यातिने गरेका छन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend