Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ सकियो, केहीबेरमै आदेश आउने


    बुधबार, असार २७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ सकिएको छ

    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै दायर उक्त रिटमाथि आज सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने सर्वोच्च अदालत स्रोतले बताएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमाथि खाजा समयपछि सुनुवाइ सुरु भएको थियो । अपरान्ह ४ः३० बजे सुनुवाइ सकिएको छ ।

    एमाले नेतृत्वको सरकार अल्पमतामा परेपछि भएको मत विभाजनमा सत्तारुढ नेतृत्व र एमाले नेतृत्वले बराबर मत ल्याएको थियो । त्यसपछि सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धन बहुमतमा रही सरकार गठन गरेपछि विपक्षमा पुगेको एमालेले सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएको थियो । एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते शुक्रबार वारेसमार्फत् सर्वोच्चमा रिट दर्ता गराएका । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

    कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका थिए ।

    निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको समेत माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार