काठमाडौँ। अत्यधिक गर्मीका कारण अर्थात् खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण मकैको घोगा लाग्ने र पाक्ने बेलामा मकैका बोट सुक्न थालेपछि किसान निकै चिन्तित बनेका हुन्।
सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन्। भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए।
उनले भने, ‘घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो। मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो।’
भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाएका थिए। सबै मकै सुक्न थालेपछि उनले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेका छन्।
सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बनेका छन्। सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ। पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्।
उनले भनिन्, ‘मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु। चाख्नसमेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो।’
कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुन प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउँछन्।
उनले भने, ‘सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ।’ उनले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताए।
उनले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको बताए।
चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ। उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ। मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन्।
चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ। माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ। यो मकै जेठ–असारमा पाक्छ। वैशाख–जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ। यसलाई वर्षे मकै भनिन्छ।
चितवनमा यो मकै नौ हजार आठ सय हेक्टर बढीमा खेती गरिन्छ। यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुन्छ। यो मकै फागुन–चैतमा पाक्छ।
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई...
काठमाडौँ। सरकारले रासायनिक मल ल्याउन बजेट छुट्याएको छ। रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेटमा वृद्धि गरी ३२ अर्ब ४६ करोड पुर्याइएको हो। रासायनिक...
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केरा खेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend