Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडामा २ छोरासहित आमाले विष सेवन गर्दा एक छोराको मृत्यु


    बिहिबार, जेष्ठ १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष पिएर आत्महत्या प्रयास गरेकी छन् । विषका कारण एक नाबालकको भने मृत्यु भएको छ।

    हेटौंडा उपमहानगरपालिका-१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको खुलेको छ ।

    विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि बुधबार नै हेटौडा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट उनीहरूलाई राति साढे ८ बजे चितवनको भरतपुर रिफर गरिएको थियो ।

    गम्भीर रहेका नाबालक छोरा जेनिसको बिहीबार बिहान ७ः५० मा उपचारका क्रममा चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतमका अनुसार आमा र अर्का छोरा अस्किनको अवस्था पनि गम्भीर छ । उनीहरू दुवै जनाको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

    प्रारम्भिक घटना विवरण अनुसार आमाले नै बच्चालाई विषादी खुवाएर आफूले पनि खाएको पाइएको एसपी गौतमको भनाइ छ । तर, यो अवस्था किन आयो भन्ने नखुलेको उनले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार