काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको निर्देशनमा दिनहुँजसो कर्मचारी सरुवा हुँदैआएको छ । सचिव कृष्णहरि पुस्कर कर्ण र मन्त्री मोदी अमेरिका हुँदा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी सरुवा सहसचिव कमलप्रसाद भट्टराईले गरेका थिए । आफ्नो र सचिवको अनुपस्थितिमा कर्मचारी सरुवा गरिएको बिषयलाई लिएर कर्मचारी प्रशासन महाशाखाका प्रम्ख भट्टराईमाथि अमेरिका फर्किनासाथ आक्रोश पोेखेका थिए । सोही प्रकरणपछि भट्टराईलाई महाशाखा परिवर्तन गरी नासुबाट जागिर सुरु गरेका हेमराज तामाङलाई कर्मचारी प्रशासनमा ल्याएका थिए । कर्मचारी प्रशासनबाट सरुवा हुनुपरेको अपमान सहन नसकी भट्टराईले सामान्य प्रशासन छाडेर संस्कृति तथा पर्यटन मन्त्रालयमा सरुवा भएका छन् ।
तामाङले महाशाखा सम्हालेपछि मन्त्रीकै निर्देशनमा कार्यालय समय सकिएपछि टिप्पणी उठाउने, सदर गर्ने र पत्र दिने कार्य हुँदै आएको छ । बिहान प्रायः कार्यालय समयमै उपस्थित हुने मन्त्री मोदीले दिनभर कर्मचारी सरुवाको सूची तयार गर्ने र ५ बजेपछि त्यसलाई कार्यान्वयन गराउने गर्दैआका छन् । दिनभर कर्मचारी प्रशासन महाशाखा र शाखाका कर्मचारीहर कार्यकक्षमा भेटिंदैनन् । सरुवाका लागि धाउनेहरुको संख्याले सामान्य प्रशासन मन्त्रालयभित्र, बाहिर परिसर र अगाडिको पार्किङसमेत भरिभराउ हुने गरेको छ ।
मन्त्री र कर्मचारीहरुले सरुवामा चासो नदेखाएपछि कतिपय कर्मचारीहरु बिचौलियाहरुको शरणमा पुग्ने गरेका छन् । सचिवालयमै कार्यरत कर्मचारीहरु र मन्त्री र सचिवका निकट बिचौलियाहरुले आर्थिक लेनदेनको बिषय टुंग्याएपछि अघिल्लो दिनसम्म सरुवा नहुने भनिएका कर्मचारीहरुको रातारात टिप्पणी उठ्ने र पत्र बन्ने गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत कार्यालय समयमा मात्र सक्रिय हुने भएका कारण कार्यालय समयपछि सरुवाको कामकारबाही गर्ने प्रक्रियालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीहरुले रोज्दैआएका छन् । ५ बजेपछि अरु मन्त्रालयका कर्मचारीहरु सिंहदरबारका ३ वटा गेटबाट बाहिरिने क्रम सुरु हुन्छ । तर यही समयमा सरुवा र मोलमोलाइ मिलेका कर्मचारी र बिचौलियाहरुको प्रवेश सामान्य मन्त्रालयमा हुँदैआएको छ ।
मन्त्री, सचिव लगायत कर्मचारी प्रशासन महाशाखा र शाखाका कर्मचारीहरु दिनभर अन्यत्र गए पनि ५ बजेपछि टुप्लुक्क कार्यकक्षमा आइपुग्छन् । बिचौलियाहरुले तयार पारेको सूची सचिव र मन्त्रीलाई थमाएपछि त्यही अनुसार सहसचिव मार्फत् उपसचिवकोमा टिप्पणी उठाउनका लागि पुग्ने गरेको छ । महाशाखा प्रमुख तामाङको एकल उपस्थितिले मात्र मन्त्री मोदीको चित्त नबुझेपछि कर्मचारी प्रशासन शाखाका उपसचिवद्वय कमानसिं थापागर र खिलराज राईलाई समेत कतिपय अवस्थामा बोलाउने गरेका छन् ।
मन्त्रीको सचिवालयमा कार्यरत निजी सचिव ज्ञानप्रसाद ढकाल, स्वकीय सचिव ताजिम अन्सारी, उपस्वकीय सचिव सुमन कालिकोटेले पनि आर्थिक लाभ लिने कबोल गरेका कर्मचारीको मन्त्री र सचिवलाई बुझाउने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत बन्न गाउँपालिकामा ५ लाख, नगरपालिकामा १० लाख, उपमहानगर र महानगरको २० लाखसम्मको दररेट तय गरिएको छ । मन्त्रीले मात्रै होइन, सचिव कर्णले पनि बिचौलिया मार्फत दररेट असुली गर्ने गरेका छन् । मधेश प्रदेशका विवाद नभएका पालिकामा प्रमुख प्रशासकीय अधिकृत कर्णले एक्लौटी सेटिङ गरेको आरोप छ । बाँकी प्रदेशमा मन्त्री र उनको नाममा रकम उठ्तीपुठ्ती गर्ने गरिएको छ ।
मन्त्री मोदीलाई राजनीतिक दबाबमा प्रमुख प्रशासकीय अधिकृत पठाउनका अनुरोध आउने गरेको भए पनि बिचौलियाहरुमार्फत् जान चाहने कर्मचारीहरुलाई छुट्टै बोलाएर आर्थिक संकलन गरेर मात्र सरुवा गर्ने गरिएको छ । सरुवा भएपछि जसले सिफारिस गरेको हो, उसलाई फोन गरेर ‘हजुरले भनेको मानिस पठाइदिएँ नि’ भन्ने, उता गएको मानिससँग रकम असुल्ने दोहोरो लाभ लिने कार्य पनि सामान्यमा भइरहेको छ । बर्षमान पुन मन्त्री हुँदा उनको सचिवालय र मन्त्रालयमा रजगज गरेका कमानसिं रोल्पाका हुन् ।
निर्णय क्षमता नभएका उपसचिवका रुपमा मानिने राजनीतिक पहुँचका आधारमा महत्वपूर्ण मन्त्रालयमा बस्ने अवसर प्राप्त गरिरहेका छन् । उपसचिव खिलराज राईलाई मोदीकै रोजाइमा प्रशासनको जिम्मा दिइएको हो । उपसचिव ज्ञाननाथ ढकाललाई मोदीले नै रोजेर ल्याएका हुन् । स्वकीय सचिव ताजिम अन्सारी मोदीले मन्त्रालय सम्हाल्नेबित्तिकै नियुक्त गरिएका हुन् । कालिकोटेलाई बिरु मण्डललाई हटाएपछि नियुक्त गरिएको हो । छोटो समयमै सचिवालय २ पटक काँटछाँट गरिसकेका मोदीलाई पूर्वमन्त्री उमाकान्त चौधरीकै जस्तो सचिवालय ब्यवस्थापन गर्न नसक्ने र पटक पटक सहयोगीहरु फेरिरहने मन्त्रीका रुपमा हेर्न थालिएको छ ।
मन्त्री मोदीले बुधवार सचिव, प्रशासन र सचिवालयका कर्मचारीहरूको बैठकमा खरिदारदेखि सहसचिवसम्म सबैको सरुवा सूची आफ्ना स्वकीय सचिव आलमलाई देखाएर मात्र अघि बढाउन निर्देशन दिएपछि मन्त्रालयमा अर्को विवाद सुरु भएको छ ।
सात दिनभित्र खटाएको कार्यालयमा नजाने कर्मचारीलाई कारबाही गर्ने उर्दी जारी गरेका मोदीले बेला बेला कानुन बिपरीत हुकुमी प्रमांगी शैली अपनाउने गरेको आरोप छ । निजामती सेवा ऐनले सरुवा भएको कर्मचारीले २१ दिनभित्र रमाना लिनुपर्ने र ३५ दिनभित्र खटिएको कार्यालयमा पुग्नुपर्ने ब्यवस्था छ । तर मोदीले कर्मचारीलाई तर्साएर मोलतोल गर्नका लागि ७ दिने फतवा जारी गरेको आरोप छ । आफुनै मन्त्रालय र सचिवालयका कर्मचारी ब्यवस्थापन गर्न नसकेका मोदीले देशभरीको प्रशासनतन्त्रलाई कसरी ब्यवस्थापन गर्लान् ? जानकारहरुले प्रश्न उठाएका छन् ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend