Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • अबको अर्थमन्त्रीः जसको नाम चर्चामा छ


    बिहिबार, भाद्र १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । तत्कालीन एमाले हुँदै नेकपामा योगदान केही नभए पनि खातमाथि खात पद प्राप्त गर्ने भाग्यमानी डा. युवराज खतिवडा ३१ महिना ७ दिन अर्थमन्त्री भएर आइतबार (भदौ २१) मा बिदा हुँदैछन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई जसरी पनि अर्थमन्त्री कायमै राख्ने पक्षमा थिए । तर उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा सांसद हुने रहर गरेपछि खतिवडालाई निरन्तरता दिने ओली योजना अधुरो रहन पुगेको छ ।

    खतिवडाको बिदाइपछि अर्थमन्त्री को हुन्छ ? यो जिज्ञासा सर्वत्र छ । राष्ट्रियसभाको सांसद भएपछि गौतम नै अर्थमन्त्री हुने अड्कलबाजी पनि गरिएको छ । तर संविधानमा प्रतिनिधिसभाको सांसदमा पराजीत भएको ब्यक्ति सो संसदको अवधिमा मन्त्री हुन नपाउने ब्यवस्था राखिएको बिषय पनि कतिपयले उठाएकाले उनको संभावना तत्काल देखिंदैन । संविधानमा पराजीत ब्यक्ति मात्र हुन नपाउने भनिएको हो, राष्ट्रियसभामा सांसद भइसकेकाले त्यो कुरा लागू नहुने तर्क पनि कतिपयले गरेका छन् । गौतमलाई मन्त्री नै बनाइहाले पनि अर्थको अनुभव नभएकाले सहरी विकास, भौतिक पूर्वाधार मन्त्रालयमध्येबाट रोजेर दिने विकल्प प्रधानमन्त्रीले अवलम्बन गर्न सक्ने बालुवाटार स्रोत बताउँछ ।

    अर्थमन्त्रीमा प्रधानमन्त्री ओलीले आफूले विश्वास गरेकै नेतालाई लाँदा महासचिव बिष्णु पौडेलको नाम चर्चामा छ । तर महासचिव पौडेल भने पार्टीको महाधिवेशन पनि नजिक आइरहेकाले मन्त्रीमा जाने कि नजाने दोधारमा रहेको बताइन्छ । माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे अर्थमन्त्रीका अर्का दाबेदार हुन् । तर उनलाई ओलीले अर्थमन्त्रालयमै लगिहाल्ने संभावना कम छ । उनलाई भौतिक पूर्वाधार, सहरी विकास वा परराष्ट्र मन्त्रालय मध्ये एक रोज्न बालुवाटारले प्रस्ताव पठाएको बालुवाटार स्रोत बताउँछ । यदि परराष्ट्र मन्त्रालय पाण्डेको रोजाइमा परेमा अर्थमन्त्रीमा प्रदीप ज्ञवाली आउने चर्चा पनि छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार