काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका तीन मन्त्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुमक्त ढकाललगायतका पदाधिकारीको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री पोखरेल सीसीएमसीका संयोजक हुन भने थापा र ढकाल सदस्य हुन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कार्यालय छाउनीमा आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका बैठकमा सहभागीहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको हो । सबै पदाधिकारीको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
यसअघि ती कर्मचारीमा कोरोना पुष्टि भएसँगै बैठकमा सहभागी सबैजना आइसोलेशनमा बसेका थिए ।