Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मृत्युपछि कोरोना रिपोर्ट लिन पनि सकस छ आफन्तहरुलाई


    शनिबार, भाद्र १३ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ ।

    बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो वातावरण नहुने र मृत्युपछि ढिलो रिपोर्ट आउँदा संक्रमण देखिए ट्रेसिङमा समस्या हुने गरेको आफन्तहरूको गुनासो छ ।

    उदयपुरका ५२ वर्षीय एक पुरुषको गत ९ भदौमा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो । सोही दिन बिहानै उनको स्वाब लिइएको थियो । तर, उनको पिसिआर परीक्षणको रिपोर्ट तीन दिन पछि १२ गते शुक्रबार आयो । उनका एक आफन्तले भने, ‘के गर्नु रिपोर्ट बल्ल आयो । हामी यही अस्पतालमै बस्यौं । हारगुहार गर्दा पनि समयमा रिपोर्ट पाएनौं ।’

    ज्वरोको लक्षण देखापरेपछि उनलाई उदयपुरमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले सुरुमा कोरोना परीक्षण गर्न नमानेको आफन्तको गुनासो छ ।

    रिपोर्ट समयमा नपाउँदा आफन्तहरू मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् । देशभर अधिकांशको मृत्युपछि मात्रै कोरोना परीक्षण भई रिपोर्ट आउने गरेको छ ।

    स्वाब संकलन गरिए पनि रिपोर्ट ढिलो आउँदा आफन्तहरू प्रताडित हुने गरेका छन् । गुल्मीमा केही महिनाअघि मृत्यु भएका मृतकका एक आफन्तले भने, ‘मृत्यु त भयो तर स्वाब संकलन गरेको झन्डै एक हप्तामा रिपोर्ट आयो । हामी निकै तनावमा थियौं ।’

    हाल दैनिक ११ हजार जनाको हारहारीमा कोरोना परीक्षण हुने गरेको छ । परीक्षणको दायरा बढाउँदा रिपोर्ट होल्ड भएको हुन सक्ने विज्ञहरू बताउँछन् । यस्तै, अस्पतालहरूले लक्षण देखिएका बिरामीहरूको कोरोना परीक्षणलाई द्रुत रूपमा अघि बढाउन नसकेको पाइएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले केन्द्रीय प्रयोगशालाले आकस्मिक रिपोर्ट स्वाबको नमुना आएको १२ घण्टाभित्रसम्म दिइने गरेको बताए । उनले भने, ‘आकस्मिक अवस्थाको भए स्वाबको रिपोर्ट सामान्यतया १२ घण्टासम्म आइपुग्नु पर्छ । सम्बन्धित अस्पतालका चिकित्सकको सिफारिस चाहिन्छ । तर, होल्डिङ भएका स्याम्पलको रिपोर्ट २४ देखि ३६ घण्टाभित्र आउँछ ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार