Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रविलाई बचाउने नाममा रास्वपा सत्ताको गोटी बन्नु दुर्भाग्यपूर्ण


    मंगलबार, चैत्र ७ २०७९
    2.8K
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • तिलक कोइराला

    रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टीको पक्षमा चुनावी अभियान चलाउने मध्येमा हामी पनि पर्छौं । कांग्रेस, एमाले र माओवादी लगायतका दलहरुले बर्षौं सत्तामा रहेर जनमत भजाए पनि देश र जनताको दुर्गति झन् धेरै भयो भनेरै हामीले बैकल्पिक शक्तिको रुपमा लौरो र घण्टीलाई उभ्याउने अभियान चलाएका थियौं र नो नट अगेन त्यसको अभिन्न अंग थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका जति उम्मेदवारले जिते, त्यसमा मैले भोट हालेको उम्मेदवारले पनि जिते र प्रचार गरेको उम्मेदवारले पनि जिते । समानुपातिक मतमा पनि हाम्रै योगदान छ ।

    हाम्रो अपेक्षा काँग्रेस, एमाले र माओवादीजस्तै सत्तालम्पट पार्टी रास्वपा बनोस् भन्ने कदापी थिएन । रास्वपा संसदमा गएकै पहिलो दिनदेखि जनताका ज्वलन्त समस्याहरु समाधानका लागि खरो रुपमा उत्रनेछ भन्ने हाम्रो अपेक्षा थियो, शायद रास्वपाको घण्टी चिन्हमा मतदान गर्ने धेरैले त्यही सोचेका हुँदा हुन् । २० सिट जित्ने पार्टीले सरकार नै हाँक्छ र नेपाली जनताका सारा समस्या समाधान गर्छ भनेर कसैले पनि सोेच्ने मुर्खता गरेका हैनन् तर समस्याको उठान र समाधानको उपाय अघि सारेर संसदमा २० सिटवाला पार्टीले ठूलो हंंगामा गर्नसक्छ, त्यसको पक्षमा उर्लिने जनलहरले झन् गज्जबको माहौल सिर्जना गर्नसक्छ ।

    विडम्वना, रवि लामिछाने र उनको नेतृत्वको पार्टीले जनताका ज्वलन्त समस्या समाधानका सूत्रहरु पत्ता लगाएर संसदमा बुलन्द आवाज उठाउनुको सट्टा आफुलाई सत्ताको गोटीको रुपमा उभ्यायो । एमाले माओवादी गठबन्धन सरकार होस् वा अहिलेको काँग्रेस माओवादी गठबन्धन सरकार नै किन नहोस् रास्वपाले आफ्नो सांसद संख्यालाई सत्ताको मालदार मन्त्रालय माोलतोल र रविमाथि आईपर्ने नागरिकता र पासपोर्ट काण्ड मिलाउने अस्त्रको रुपमा उपयोग गर्यो ।

    रवि लामिछानेको पार्टीले देशको अर्थतन्त्रले भोगिरहेको जटिल समस्या समाधान, उद्योगी ब्यवसायीहरुको समस्या समाधान, सहकारी, लघुवित्त र बैंकिङ क्षेत्रले सामना गरिरहेको समस्या समाधान, पूँजी बजार बिकास र बिस्तार, सबै नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने उपाय र घरजग्गा क्षेत्रलाई ब्यवस्थित पार्ने उपाय, आन्तरिक उत्पादनको खस्कदो अबस्था र बजारीकरणका समस्या समाधान, सरकारी शिक्षाको गिर्दो अवस्थामा सुधार, सबै नागरिकले गुणस्तरीय स्वास्थ्य उपचार पाउने प्रत्याभुति, विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमै अड्याउने उपाय, गरिबी कम गर्ने उपाय, न्यायालयमा सामान्य नागरिकले १० बर्षसम्म मुद्दा लड्दा पनि पनि न्याय नपाउने अवस्थाको अन्त्य, सरकारी सेवा सुविधा सुलभ तवरले जनताले पाउने प्रत्याभूति लगायतका कुरा सरकारलाई समर्थन गर्ने पूर्व शर्तको रुपमा अगाडि सार्यो त ? अहँ सार्दै सारेन । उसको दिमाग पनि कुन मन्त्रालय भागवण्डामा पाउने र को मन्त्री बनाएर पठाउने भन्ने कुरा नै प्राथमिकता रहेको कुरा हिजो र आज छर्लङ्ग देखियो । मुद्दा हैन, मन्त्रालय छनौटमा परेको कुरा गृहमन्त्रालय नभई नहुने भन्ने अडानले नै स्पष्ट पार्छ । नेपाली जनताका यी यी समस्या समाधान हुने भएमात्र हामी समर्थन गर्छौ वा सरकारमा सहभागी हुन्छौं भनेर गरिएको वार्ता र भएको सहमतिको कागज कोही कसैले देखाउन सक्नुहुन्छ ? अहँ छैन ।

    तिलक कोइराला

    त्यसमाथि झन् रवि लामिछानेको एकल निर्णयमा रास्वपा चल्न थाल्यो । रविको नागरिकता काण्ड मिलाए सबै ठीक, पासपोर्ट काण्ड मिलाए सरकारलाई समर्थन भन्ने शर्त रहेको देखिने गरी गतिविधिहरु भए र प्रचण्ड सरकारले विश्वासको मत प्राप्त गर्ने दिन नै महान्यायाधिबक्ताबाट मिलाएर पासपोर्ट काण्ड सामसुम पार्नुले बाघ कराउनु र बाख्रा हराउनुको संयोग मिलेकै छ । रवि लामछिानेको नागरिकता र पासपोर्ट काण्ड कुनै अक्षम्य अपराध नै थिएन र त्यसमा रवि डराउनुपर्ने कुनै कारण पनि थिएन किनभने ऊ जन्मजात नेपाली थियो र पहिले नै अमेरिकी पासपोर्ट र नागरिकता त्यागेर सरकारी निकायलाई जानकारी दिइसकेको थियो । यद्यपि जिल्ला प्रशासन कार्यालय, काठमाडौमा एउटा औपचारिक पत्र लेखेर आफ्नो नागरिकता र पासपोर्ट कायम गरिपाउँ भन्ने निवेदन नदिनु मात्र प्रक्रियागत त्रुटि थियो, त्यसमा रविलाई जेल नै पठाउनेसम्मको फैसला न्यायालयले ठोक्ने संभावना पनि थिएन । आम नेपाली जनता रविकै पक्षमा थिए । रास्वपाको सारा शक्ति रविलाई नै बचाउने नाममा सत्ताको गोटी बन्नु दुर्भाग्यपूर्ण भयो ।

    रविको न्यूज २४ को कार्यक्रम संचालनताका जजनआस्थाले उनको नागरिकता, पासपोर्ट र नेपालमा बसाईको बैधानिकतासमबन्धी प्रश्न बारम्बार उठाएर खेदो खनेपछि त्यसको प्रतिवाद गर्दै कानूनी रुपमा आफू बलियो हुन् सुझाउने मै नै थिएँ । उनको बहुविवाहको मुद्दा मिडियाले उछाल्दा पनि कानूनी र ब्यवहारिक आधारमा बलियो बन्न दबाब दिने पनि मै थिँए । गत चुनावको मतदान हुनु तीन दिनअघि रविको नागरिकताको मुद्दा उछालेर केही मिडियाको सहारामा ठूलो षडयन्त्र हुँदैछ भनेर उजागर गर्ने पनि मै थिँए । तर यतिसम्म हुँदा पनि मैले ब्यक्तिगत रुपमा रविलाई कहिल्यै भेटिन । म पूँजी बजारको बिषयलाई लिएर अनशन बस्दा धितोपत्र बोर्डको गेटमा उनीसहितको टोलीले भेटेर ऐक्यवद्धता जनाएको बाहेक हाम्र्रो दोहोरो भेट भएको छैन । कुनै रीस र आवेग साँध्ने हैन, म उनको भलो नै चिताउनेमध्येमा पर्छु ।

    देश र जनताका समस्या समाधानका लागि न त यो पार्टीको कुनै ठोस नीति छ, न त कुनै कार्यदिशा नै । के अहिले बनेको १० पार्टीको सरकारमा सहभागी भएर रविको पार्टीले आफ्नो अलग पहिचान कायम गर्न र नेपाल र नेपालीका समस्या समाधानको अगुवाई गर्नसक्छ ? अहँ सक्दैन, झन् बदनाम हुन्छ । सरकारलाई विस्वासको मत दिइसकेर सरकार बाहिर बसे पनि उसले उठाउने माथिका मुद्दाहरु समाधान गर्न सरकारलाई बाध्य पार्नसक्छ ? त्यो पनि सक्दैन । रास्वपा रविको ढाल बनेर चुुकिसकको हुँदा उसले प्रचण्ड सरकारलाई दबाबमा पार्ने नैैतिकता गुमाइसकेको छ र आम नेपाली जनताका आशा र भरोसामाथि तुषारापात गरिसकेको छ । जान्नेलाई छान्ने र नो नट अगेन भन्दा अब कसैले पत्याउने अवस्था रहेन ।

    हामीले रास्वपालाई भारतको आम आदमी पार्टी जस्तै जनताका समस्या समाधानमा खरो रुपमा उत्रिने पार्टीको रुपमा देख्न चाहेका थियौं । काठमाडौ र चितवनका जनताले गत चुनावमा यस पार्टीको पक्षमा ब्यक्त गरेको अभिमत पनि त्यही थियो तर उसले शुरुमै जनमतको घात गरिसकेको छ । रास्वपाले अब जनताको समस्या समाधान गर्न न सदन अबरुद्ध गर्नसक्छ, न त सत्ताका १० वटै घटकहरुलाई बाध्य पारेर निर्णय गराउनसक्छ । ऊ सत्ताको भासमा पतन भइसकेको छ ।

    रविको पार्टीको केन्द्रीय समितिमा हैकमवादी शैलीमा गरिएको विवादास्पद ब्यक्तिहरुको मनोनयनले नै धेरैलाई शंका उब्जाइसकेको छ । आगामी दिनमा यो पार्टी तीन या चार टुक्रामा बाँडिएर जाने संभावना प्रबल देखिन्छ । एमालेबाट आएकाहरु उतै फर्किने, केही काँग्रेसतिर लाग्ने, थोरै माओवादीतिर छिर्ने र केही निराश बनेर निस्क्रिय रहने हुनसक्छन् । कुनै विचार, नीति र कार्यदिशा नभएको पार्टीमा हुने नै यस्तै हो ।

    त्यसैले आसन्न उपचुनावमा चितवन २ बाट फेरि रविलाई नै जिताउनुको अर्थ छैन । त्यसैले हामी अब रविको विरुद्धमा अभियान चलाउनेछौं । जनताले धेरै अपेक्षा गरेका ब्यक्तिहरु जनमतको अपमान गर्दै आफ्नो स्वार्थसिद्धिमा नलागून् भनेर सचेत गराउन पनि फेरि रविलाई चितवनबाट जिताउनु हुँदैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार