Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देश कोरोना महामारीको त्रासमा, मिटरब्याजी सापकोटा सरकारको आदेश उल्लंघन गर्दै होटल उदघाटनमा


    सोमबार, भाद्र ८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • आइतबार मेची क्राउन होटल उदघाटनको दृश्य, जहाँ अधिकाश सहभागीले मास्क लगाएका छैनन् 

    झापा । कोरोना भाइरस संक्रमण फैलिने क्रम बढेपछि राजधानी काठमाडौंका तीनवटै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । देशका अन्य भागमा पनि निषेधाज्ञा गरिएको छ । कतिपय जिल्लाले कोरोना संक्रमितहरु बढेपछि वडा सिल गर्ने गरेका छन् । झापामा पनि केही गाउँपालिकामा निषेधाज्ञा नै लागू गरिएको छ । कोरोना महामारी फैलिन नदिन सरकारले चाडपर्व, धार्मिक– साँस्कृतिक काम गर्दा हुने आफन्तहरुको जमघटमा पनि प्रतिबन्ध लगाएको छ । होटल, पार्टी प्यालेसहरुमा भेला निषेध गरिएको छ ।

    सरकारले होटल र पार्टी प्यालेसमा कार्यक्रम गर्न निषेध गरे पनि झापाको धुलाबारीस्थित मेची क्राउन होटलमा आइतबार भब्य उद्घाटन समारोह आयोजना गरिएको छ ।  उक्त होटलको उदघाटनमा सहभागी भएका कसैले पनि मास्क समेत लगाएका छैनन् । र, होटलका संचालक मध्येका एक बलराम सापकोटा ‘बले’ले उक्त होटलको उदघाटन कार्यक्रमको भिडियो खिचेका छन् । भिडियोमा उनी बोलेको प्रष्ट सुनिन्छ । सरकारले भोजभतेर गर्न र उदघाटन गर्न निषेध गर्दागर्दै पनि भारतको सीमा नजिकै मेची क्राउन होटल उदघाटन ब्राह्मणलाई बोलाएर भब्यरुपमा पूजापाठ गरी सम्पन्न गरेका छन् ।

    HMC.jpg

    मेची क्राउन होटल र इन्सेटमा बलराम सापकोटा

    कोरोना महामारी फैलिएको बेला होटलमा कार्यक्रम गर्दा पनि झापा प्रहरीले थाहा पाएर पनि नपाएको झैं गरेको छ । होटल उदघाटनमा काठमाडौंबाट समेत मानिसहरु लगिएको थियो । अरुलाई राजमार्गमा सवारी चलाउन निषेध छ । बलेको होटल उद्घाटनमा काठमाडौंदेखि मानिस निर्वाध गएका थिए । सामाजिक दूरीसमेत पालना नगरी मास्क समेत नलाई होटलमा कार्यक्रम भएको समेत प्रहरीले थाहा नपाएको हो वा बलेको प्रभावमा परेर हो, उदघाटन सम्पन्न गर्न छुट दिएको छ । बले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि न्यायालयमा समेत आफ्नो पहुँच रहेको कुरा निर्धक्क भन्ने गर्दछन् । त्यही भ्रम दिएकाले प्रहरी पनि उनको होटल उदघाटनमा चुपचाप बसेको हो कि भन्ने चर्चा पनि धुलाबारीका स्थानीयमा भएको छ ।  

    कोरोना महामारी फैलिरहेको बेला होटल उदघाटन गर्न दिनुभएछ नि भन्ने जिज्ञासामा झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने–‘खोई मेची क्राउन होटलमा कार्यक्रम भइरहँदा कसैले जानकारी दिएन । दिएको भए प्रहरीले रोक्थ्यो । आज कार्यक्रम भएछ भनेर के गर्न सकिन्छ र ?’

    मेची क्राउन होटलका संचालक बलराम सापकोटा ‘बले’, पवित्रकुमार कार्की र दरबारमार्गको मेरीगोल्ड ज्वेलर्सका संचालक सुरेश श्रेष्ठ हुन् । बले ५० को दशकमा क्यासिनोमा हार्नेलाई १ लाखको दिनमा १० हजार ब्याज लिने मिटरब्याजी हुन् । दैनिक एक लाख रुपैयाँको १० हजार ब्याज दिन नसके प्रहरीका उच्च अधिकारीमार्फत् करोडका घर लाखमा हडपेर रातारात नवधनाढ्य भएका हुन् बले । पवित्रकुमार कार्की डाइनेष्टी एयरका संचालक हुन् । उनी यति समूहले खोलेका कम्पनी संचालन गर्दैआएका छन् । बलेसहितको यो समूहले बिर्तामोडमा १ सय ४ रोपनीमा क्षेत्रमा फैलिने होटल निर्माण गरेको छ । जहाँ हेल्थ क्लबसँगै क्यासिनो भेनस पनि संचालन गर्दैछ । बले निर्देशक रहेको भेगास सिटी इन्टरटेन्मेन्टले मेची क्राउनका क्यासिनो भेगाससमेत चलाउने तयारी गरिरहेको छ । क्यासिनोको अनुमतिका लागि पर्यटन विभागमा प्रक्रिया चलिरहेको छ । होटलमा हेलिप्याड, डिस्कोथेक सहितको होटलमा कोठा मात्र १ सय २५ वटा कोठा रहेका छन् ।

    मेची क्राउन होटलका संचालक बले र पवित्रकुमार कार्की गतबर्ष अवैध जुवा अखडामा पक्राउ परेका थिए । उक्त जुवा अखाडाबाट २ करोड ६७ लाख रुपैयाँ बरामद भएको थियो । बले र कार्की पक्राउ परेपछि सम्पत्ति शुद्धिकरण विभाग उनीसँगै जुवा अखडामा पक्राउ परेका २५ जनाकै सम्पत्तिको स्रोतको खोजबिनमा जुटिरहेको छ । बलेबारे विभागले २०७० ताकै सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शुरु गरेको दाबी गरेको थियो तर त्यो अनुसन्धान ढिसमिस भएको थियो । अहिले पनि सम्पत्ति शुद्धिकरणको मुद्दा ढिसमिस गराउन विभागका निर्देशक विनोद लामिछानेमार्फत् महानिर्देशक रुपनारायण भट्टराईलाई प्रभावमा पारिसकेको स्रोत बताउँछ ।

    मसल्ची बले कसरी बने अरबपति ?

     बलराम सापकोटा बलेको पृष्ठभूमि होटेलको मसल्ची हो । पछि उनी ठमेलमा रेस्टुरेन्टहरूमा बाउन्सर भए । त्यसबीचमा उनको चिनजान अर्का गुन्डानाइके दीपक मनाङ्गेसँग पनि भएको थियो । पछि  उनी दरबारमार्गको पाँचतारे होटल याक एन्ड यतीको क्यासिनोमा बाउन्सर भए । नेपालीहरूलाई क्यासिनोमा कडाई हुन थालेपछि जुवाका लगानीकर्ताहरूका लागि यी बाउन्सरले बीचमा बसेर काम गर्न थाले ।

     काभ्रेको रोशी गाउँपालिका घर भएका उनी आज अरबपति भएका छन् । ५० देखि ६० को दशकमा काठमाडौं उपत्यकाका क्यासिनोहरूमा नेपालीको निर्बाध प्रवेश हुन थाल्यो । क्यासिनोमा जाने नेपालीले जित्ने संभावना त हुँदैहुँदैथ्यो । क्यासिनोमा हार्ने नेपाली बाहिर निस्कनासाथ अर्को दिन बेलुका पुनः जाने र जित्ने धुनमा हुन्थे । तिनै नेपालीलाई १ लाखको दिनमा १० हजार रुपैयाँसम्म मिटरब्याजमा पैसा दिने काम बलराम सापकोटा बले, वीरेन्द्रलाल श्रेष्ठ, कविन शाक्यहरूले गरे ।

     क्यासिनोमा हार्नेहरूको घर र गाडी दृष्टिबन्धक राखी उनीहरूले मिटरब्याजमा पैसा लगानी गरी रातारात करोडौं कमाउन थाले । प्रहरीका हाकिमहरूको भ्रष्टाचारको रकम पनि उनीहरूले मिटरब्याजमा लगानी गर्न थाले । लगानीको रकम असुली हुन नसकेको खण्डमा प्रहरीका हाकिमले पनि शक्तिको दुरुपयोग गर्दै मिटरब्याजको रकम उठाउन मद्दत गर्न थाले । २०६६ मा क्यासिनो लत लागेका विरेन प्रधानले पैसाका लागि ख्याती श्रेष्ठको हत्या गरे ।

     क्यासिनोका कारण अपराधिक घटना बढेको निष्कर्षका साथ त्यतिबेलादेखि क्यासिनोमा नेपाली प्रवेशमा कडाइ गरियो । पछि क्यासिनो नियमावली २०७० ल्याएर क्यासिनोमा नेपालीलाई प्रवेश गराउनेमाथि कडा कारबाहीको कानुनी ब्यवस्था गरियो । त्यसपछि बलेहरूको मिटरब्याजको धन्दामा मन्दी आयो । तर त्यतिबेलासम्म सापकोटा, श्रेष्ठ र शाक्यहरूले बीसौं करोड आर्जन गरिसकेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार