काठमाडौं । आज बिहान चितुवाले बेंसीशहर नगरपालिका–९ स्थित साम्दी गाउँमा एक मानिसलाई आक्रमण गरेको छ ।
बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको छ।
थापा र चितुवाबीच ५ मिनेट घम्साघम्सी नै परेको थियो। घटनाबारे बताउँदै थापाले भने, ‘कान्लामुनिबाट उफ्रेर आएको चितुवाले मेरो पाखुरामा पहिले चिथोर्यो,’ उनले भने, ‘मेरो हातमा पनि हँसिया थियो। हँसियाले हानें। हँसिया चितुवाको नाकमा लागेछ।’
त्यसपछि चितुवा र थापा भुइँमा ढलेछन्। चितुवा उठेर फेरि आक्रमण गर्न आएपछि थापाले चितुवाको घाँटीमै हँसियाले हानिदिए।
‘एकअर्कोले आक्रमण गरिरह्यौं,’ उनले भने, ‘हातको औंला टोकिदिएको छ। खुट्टाका घुँडामा चिथोरेको छ। पाखुरामा गहिरो गरी नङ्ग्राले कोपरिदिएको छ। तैपनि मैले चितुवालाई छाडिनँ, हँसियाले हानेर मारिदिएँ।’
भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।
अहिले घाइतेको प्राथमिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ। मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ। वन कार्यालयले कानुन अनुसार व्यवस्थापन गर्ने शर्माले बताए ।