Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेता शाहीले पनि छोडे एमाले


    आइतबार, असोज २३ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेमा बौद्धिक नेताको छवि बनाएका शाही कर्णाली प्रदेश योजना आयोगको सदस्य  थिए । घनश्याम भुसालनिकट शाहीले भुसालले जस्तै चुनावमा  टिकट नपाएपछि पार्टी नै छाडेका हुन्। 

    शाहीले विज्ञप्तिमा लेखेका छन्,‘एमालेले गर्ने एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिनदेखि अझ पछिल्लो अवधिमा  भीम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रहजस्ता क्रियाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो। यस्तै विविध कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु।’

    यस्तो छ शाहीको बिज्ञप्तिको पूर्णपाठ 

    प्रेश विज्ञप्ति
    सानै उमेरदेखि लोकतान्त्रिक वामपन्थी आन्दोलनमा होमिएको मेरा लागि यही आन्दोलनमार्फत् नेपालको स्वाभिमान, राष्ट्रियता, समृद्धि र समानता हासिल गर्न सकिन्छ भन्ने अगाध विश्वास रहेको छ । यही भएर नै हामी लोकतन्त्रका लागि लड्दै कम्युनिस्ट आन्दोलन एकीकृत हुन पर्दछ भनी मूल प्रवाहमा समाहित भएका थियौँ । विभिन्न बेलामा वामपन्थीहरू र प्रजातान्त्रिक शक्तिहरूमाझ देखा परेका विभाजनका कारण नेपालले निरन्तर राजनीतिक अस्थिरता भोगी समानता, न्याय, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको आन्दोलन कमजोर भएको दृश्य हाम्रा अगाडि ताजै छ । लाखौँ इमान्दार कार्यकर्ताको रगत र पसिनाबाट नै हरेक प्रगतिशिल आन्दोलनको आत्मा तयार हुन्छ । तर जब जब सत्ता र शक्तिका लागि नेतृत्व र पार्टीले आन्दोलनको मर्म, सिद्धान्त, कार्यकर्ताको रगत, पसिना र आँसु बिर्सन्छ, यही बिन्दुबाट चरम गुटबन्दी, सत्ता मोहका कारण हतकन्डाहरू, विचारविहीनता र सिद्धान्तविहीनताको पराकाष्टा सुरु हुन्छ । 

    हामीले एकीकृत नेकपाको पुनर्गठनले नेपालमा राजनीतिक स्थिरता, समृद्धि र आम समानता ल्याउने अपेक्षा गरेका थियौँ । अन्तरपार्टी सघर्षलाई लिएर पटक–पटक गैरजिम्मेवार तवरले गरिएको संसद विघटन जस्तो कार्यप्रति असहमति हुँदा हुँदै पनि पार्टीलाई सकभर विभाजन नगरौँ भन्ने मनसायले १० बुँदे सम्बद्ध नेता र कार्यकर्ताहरू एमालेमै उभिन पुगेका थिए । तर पनि नेकपा एमालेमा राजनीतिक फरक विचारप्रति देखिएको चरम असहिष्णुता र निषेध, एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिनेदेखि अझ पछिल्लो अवधिमा क. भीम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रह जस्ता क्रियाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो । नेकपा एमालेमा देखिएका यस्तै विविध असंगतिपूर्ण क्रियाकलाप र पूर्वाग्रही सोचका कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु ।  

    तर पनि नेपालमा वाम प्रजातान्त्रिक आन्दोलनलाई अझ बलियो र शसक्त बनाउन नेकपा एमाले, नेकपा माओवादी, नेकपा समाजवादी लगायत सबै कम्युनिस्टका साथै नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक पार्टीमा रहेका सहयोद्धाहरूसँग सहकार्यलाई  निरन्तरता राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । देश र जनताको प्रगति र अग्रगमनका लागि हाम्रो अथक प्रयास र ऐक्यवद्धता निरन्तर जारी रहने नै छ । 
    योगेन्द्रबहादुर शाही 
    सचिव ,नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभाग 
    २०७९ असोज २२

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार