काठमाडौं । यूरोपेली मुलुक लग्जेम्वर्गमा ३५ जना नेपालीहरु एकैपटक संक्रमित भएका छन्। वैवाहिक वर्षगाँठको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका ३५ जनामा संक्रमण पुष्टी भएको हो। संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ।
अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्। गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले स्पेन, बेल्जियम, युके, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ। समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भवना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरु भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ।