Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेनलाई असफल पार्नका लागि सरकार नै लाग्यो, पौडेलको सरुवा एकाएक रोकियो ?


    शुक्रबार, साउन ६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको साता १५ जना सहसचिवको सरुवा गर्यो । सहसचिव हेरफेर गर्दा संघीय मामिला मन्त्रालयका अतिरिक्त केही स्थानीय तहमा पनि प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भए । तर संघीय राजधानी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलको भइसकेको सरुवा पनि अन्तिममा चलखेलका आधारमा रोकिन पुगेको छ ।

    कमजोर कार्यक्षमता र ब्यक्तिगत स्वार्थमा लिप्त पौडेल थमौती हुनुमा मेयर बालेन साहको कुनै भूमिका छैन । पौडेलले जसरी भए पनि टिक्नका लागि केन्द्रीय शक्तिकेन्द्रलाई रिझाउन पुग्दा उनको सरुवा अन्तिममा रोकिन पुगेको हो । स्रोतका अनुसार महानगरको प्रशासन चलाउनका लागि सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले सक्षम पात्रको खोजी गरेका थिए । सोही बमोजिम उनले स्थानीय प्रशासन बुझेका सक्षम सहसचिव डुन्डुराज घिमिरेलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पठाउन खोजेका थिए । तर पौडेलको आर्थिक चलखेलका अगाडि सचिव अधिकारीको केही जोड चल्न सकेन । अन्ततः तत्कालका लागि पौडेलको सरुवा रोकियो ।  

    नवनिर्वाचित मेयर बालेन साहको पहिलो पदबहाली लगत्तै बसेको महानगरको कार्यपालिकाको बैठकपछि विवादमा आएका पौडेलको गतिबिधिलाई लिएर महानगरका कार्यपालिका सदस्यमात्र होइन, सेवाग्राहीसमेत सन्तुष्ट छैनन् । काभ्रे घर भए पनि झापा बसाई सरेका पौडेलशेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कांग्रेस निकट भन्दै महानगरमा सरुवा भएका थिए । उनलाई महानगरमा लानका लागि कांग्रेस नेता प्रकाशमान सिंह, गगन थापाको पनि साथ र सहयोग थियो ।

    तत्कालीन मेयर विद्यासुन्दर शाक्य एमालेका भएकाले उनलाई असफल पार्नका लागि सिंह र थापाले पौडेललाई साथ दिएका थिए । उनको प्रवेश नै महानगर नेतृत्वलाई असफल बनाउने नीतिबाट केन्द्रित भएको हुँदा उनको कार्यकालमा अहिलेसम्म उल्लेख्य कार्य भएको छैन । महानगरमा आउनुअघि आदिवासी जनजाति आयोगमा फालिनु पनि उनको कमजोर कार्यक्षमताकै उपज थियो । कार्यक्षमता नभएकै कारण कर्णाली प्रदेश सरकारले पौडेललाई सरुवा गरिदिनका लागि संघीय सरकारलाई हारगुहार गर्नुपरेको थियो । त्यसबेला सामाजिक विकास मन्त्रालयका सचिवका रुपमा कार्यरत उनको कार्यशैली नेतृत्वलाई नटेर्ने, कर्मचारीलाई हप्काउने र आफू कलम पनि नचोप्ने स्वभावकै कारण उनलाई कर्णाली सरकारले सरुवाका लागि संघीय सरकारलाई दबाब दिनपरेको थियो । 

    कोभिड–१९ महामारीको बेला सामाजिक विकास मन्त्रालयको भूमिका सक्रिय हुनुपर्नेमा अवस्थामा पौडेलकै निस्क्रियताले गर्दा प्रदेश सरकार समेत बदनाम भएपछि उनको सरुवा प्रदेश प्रमुखको कार्यालय लुम्बिनीमा भयो । तर उनी त्यहाँ हाजिरै हुन नगई काठमाडौंमा राजनीतिक शक्तिकेन्द्रलाई रिझाउन थाले । स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मी सचिव बढुवा कहिले हुन्छ भनेर तिथिमिति गनेर बसेका उनी त्यहाँ सरुवा हुन पनि ठूलै जोडबलका साथ लागेकै हुन् । रेग्मीको बढुवापछि सो ठाउँमा मदन भूजेललाई लगियो । उनलाई भने आयोगमा पठाइयो ।

    आयोगमा रहँदैखेरी कांग्रेस नेता सिंह र थापालाई रिझाउन सफल भएका कारणले उनको सरुवा महानगरमा भयो । त्यसबेला सामान्य प्रशासनका अधिकारीले पौडेलले महानगर चलाउन कसरी सक्लान् भनेर प्रश्न नउठाएका होइनन् । तर विद्यासुन्दरलाई असफल बनाउन पौडेलजस्तालाई पठाइएको भन्ने चर्चा पनि नचलेको होइन । विद्यासुन्दरलाई असफल बनाउन उनीभन्दा अघिका चतुर प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जुन भूमिका खेले, त्यो संचारमाध्यमबाटै सार्वजनिक भइसकेको छ । तर पौडेलले भने कामै नगरी विद्यासुन्दरलाई असफल बनाउन भूमिका खेले, जुन अहिले महानगरका कर्मचारीबीच नै बेलाबखत चर्चा हुँदैआएको छ ।

     महानगरमा नयाँ नेतृत्व आएपछि उनले आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने अपेक्षा गरिएको थियो । स्वतन्त्र रुपमै उठेर महानगरबासीको मन जित्न सफल भएका बालेन साहको योजनालाई साकार पार्ने भूमिका पौडेलबाट खोजिएको थियो । तर पहिलो बैठकमै बालेनलाई विवादमा पार्ने र वडाध्यक्षहरुबीच फाटो ल्याउने भूमिका उनले खेलेका थिए । जसको सार्वजनिक रुपमा निकै चर्को बिरोध जनस्तरबाट भयो । तर यसबारेमा पौडेलले आफूबाट गल्ती भएको स्वीकारे, न त आफ्नो कार्यशैलीमा परिवर्तन गरे । महानगर नेतृत्व दिनरात महानगरको योजना र समस्या समाधानमा केन्द्रित भइरहँदा उनी भने आफू कसरी टिक्ने भन्नेमै लागिरहेका छन् ।

    पछिल्लो सहसचिवको सरुवामा पौडेललाई महानगरबाट बिदा गर्ने तयारी थियो । तर सरुवाको सूईको पाएका उनले महानगरको अथाह स्रोतबाट हुने लाभ देखेर थमौतीका लागि शक्तिकेन्द्र रिझाउन लागे । स्रोत भन्छ,सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई पनि उनले प्रभावमा पार्न सफल भए । मन्त्रीपत्नीलाई निवासमै राम्रो शुभलाभ टक्र्याएपछि उनको सरुवाको प्रसंग नै हरायो । शुभलाभ मन्त्री निवासमै लगेर बुझाएपछि पौडेलको सरुवा रोकिएको चर्चा महानगरमा हुने गरेको छ ।

    त्यस्तै पौडेलले महानगरको २५ अर्ब बजेट परिचालनबाट हुने लाभ झलझली देखेकाले पदमा टिकिरहन प्रधानमन्त्रीका स्वकीय सचिवभानु देउवालाईं पनि शुभलाभ टक्र्याएको स्रोतको दाबी छ । भानुले मुख्यसचिवलाई नै फोन गरी उनको सरुवा नगर्न दबाब दिएकाले पनि शुभलाभ उनले पनि लिएको कुरालाई पुष्टि गर्दछ । प्रधानमन्त्रीको सचिवालय र बिभागीय मन्त्रीको चित्त बुझाएका पौडेलले मुख्यसचिव शंकरदास बैरागीलाई प्रभावमा पारी सरुवा रोकाउन सफल भएका छन् । मुख्यसचिवका छोराको एक महिनाअघि भएको विवाहमा पौडेलले उनलाई खुसी पारेकाले पनि उनलाई महानगरमा टिक्न सहज भएको चर्चा छ । भानुलाई पनि आकर्षक नजराना दिएकै कारण उनको सरुवा रोकिन पुगेको स्रोतको भनाइ छ ।

    देशकै ठूलो महानगरको नेतृत्वको सहयोगीको रुपमा रहने प्रमुख प्रशासकीय अधिकृत सक्षम कर्मचारी नपठाइनु, अक्षम कर्मचारीलाई थमौती गरी महानगरको नेतृत्वलाई असफल बनाउने प्रयत्न संघीय मामिला मन्त्रालयबाट हुनुले योभन्दा गम्भीर असहयोग के हुन सक्छ ? धरानका स्वतन्त्रबाट जितेका हर्क साम्पाङको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्नु, अर्को सक्षम पात्र नपठाउन्ु, काठमाडौंका मेयरलाई असफल बनाउन अक्षम कार्यकारीलाई थमौती गरिनुले संघीय सरकार सक्षम स्थानीय तहको नेतृत्व असफल बनाउन कसरी लागेको छ भन्ने पुष्टि हुन्छ ।

    पौडेल मेयर बालेन साहलाई असफल बनाउन र महानगरको स्रोतसाधनमा भ्रष्टाचार गर्न सरुवा रोकाएर बसेका हुन् भन्ने बुझाइ छ । महानगरको विकासका लागि अहोरात्र चिन्तित मेयर साहलाई असफल पार्नकै लागि प्रधानमन्त्रीका आसेपासे, मन्त्री र मुख्यसचिवसमेत संलग्न हुनु बिडम्बनापूर्ण नै मानिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार