भक्तपुर । नेपाल मजदूर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त पाँच हजार थान सर्जिकल मास्क भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभएको छ ।
नगरपालिकामा आज आयोजित कार्यक्रममा नगरप्रमुख प्रजापतिले सहयोगस्वरुप प्राप्त मास्क शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रलाई एक हजार, भक्तपुर क्यान्सर अस्पताललाई एक हजार, भक्तपुर अस्पताललाई एक हजार र भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रलाई दुई हजार थान हस्तान्तरण गर्नुभयो । त्यसअवसरमा सांसद सुवालले नेपाल–भारत खुला सीमा र आवतजावतका कारण नेपालमा कोभिड सङ्क्रमणको खतरा अझै बढेको बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले चीनलगायत अरु देशले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा गरिरहेको उपायबाट नगरपालिकाले शिक्षा लिँदै काम गरिरहेको बताउनुभयो ।
लकडाउनका समयमा स्थानीय जनताबाट सकारात्मक साथ र सहयोग प्राप्त भएकै कारण भक्तपुरका जात्रा तथा पर्व औपचारिकतामै सम्पन्न भएको बताउनुहुँदै प्रमुख प्रजापतिले विदेशबाट फर्केकाका लागि नगरपालिकाले छुटै क्वारेन्टिनको व्यवस्था गरेको बताउनुभयो । कार्यक्रममा भक्तपुर जिल्लाकाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका इञ्चार्ज प्रा डा प्रेम ज्ञवाली, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतम, भक्तपुर क्यान्सर अस्पताल रेडिएसन अनकोलोजिस्ट विभागीय प्रमुख उज्ज्वल चालिसे, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन डा सुमित्रा गौतमले निजी अस्पतालले सबै सेवा बन्द गरेको अवस्थामा पनि भक्तपुरका अस्पतालले भने सम्पूर्ण सेवा सञ्चालन गरेको बताउनुभयो । जनस्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा रत्नसुन्दर लासिवाले जनस्वास्थ्य केन्द्रले आकस्मिक सेवा निरन्तर सञ्चालन गरी आवश्यक सेवा प्रदान गरिरहेको बताउनुभयो । रासस