गुल्मी । यही असार १८ गते अविरल वर्षासँगै गएको पहिरोकोबारेमा अध्ययन गर्नका लागि भूगर्भविद्को टोली गुल्मीमा ल्याइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार अविरल वर्षासँगै गएको पहिरोका कारण जोखिममा रहेको क्षेत्र बस्तीका लागि योग्य हुने वा नहुने भन्ने बारेको अध्ययन गर्न भूगर्भविद् आउने भएको हो ।
पहिरोले इश्मा गाउँपालिकामा दुईजना र मुसिकोट नगरपालिकामा एकजना गरी तीनजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका छन् । इश्माका १९४ र मुसिकोट नगरपालिकाका ५४ घरपरिवार विस्थापित छन् ।
अविरल वर्षासँगै धेरै स्थानमा पहिरो गएका कारण गुल्मीका दर्जनौं बस्ती जोखिममा छन् ।
बस्ती जोमिख भएपछि त्यस स्थानका नागरिकहरु विद्यालय तथा विभिन्न स्थानमा बनाइएका पालहरुमा बस्दै आएका छन् ।
गत वर्ष पनि साउन ७ गते सत्यवती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण गुल्ममीमा १३ जनाको मृत्यु भएको थियो ।