Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसले बनाएकै हो त कोरोना विरुद्धको पहिलो भ्याक्सिन ?


    मंगलबार, असार ३० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका फैलिएसँगै विश्वमा यतिबेला २८ लाख मानिस संक्रमित भइसकेका छन् । यही संक्रमणका कारण ५ लाख ५५ हजारले ज्यान समेत गुमाइसकेका छन् ।

    यो प्रकोप पछिल्लो सात महिनादेखि चल्दै आएको छ । यहीबीच रुसका वैज्ञानिकहरुले कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाएको दावी गरेका छन् ।

    रुसको इन्स्टिच्युट फर ट्रान्जिसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक भादिम टारासोभको भनाई उदृत गर्दै रुसी समाचार एजेन्सीले भनेको छ, ‘संसारकै पहिलो कोरोना भाइरस विरुद्धको भ्याक्सिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको छ ।’

    सेचेनोभ विश्वविद्यालयले कोरोना विरुद्धको खोपको क्लिनिकल परीक्षण पूरा गरेको समेत टारासोभले बताए । उनले बताएअनुसार मस्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोभमा यसको परीक्षण गरिएको थियो र यो खोप परीक्षण गरिएका संक्रमितहरुलाई आगामी जुलाई १५ र २० मा डिस्चार्ज गरिँदैछ ।

    सो विश्वविद्यालयले परीक्षण गरेको भ्याक्सिन रुसको गामालेया नेशनल रिसर्च सेन्टर फर इपिडिमिओलोजी एण्ड माइक्रोबायोजोलीले निर्माण गरेको हो । रुसले जुन १८ मा यो खोपको लागि क्लिनिकल परीक्षण गर्न स्वीकृती दिएको थियो ।

    सेचेनोभ विश्वविद्यालयका एक वरिष्ठ अधिकारी एलेक्जेण्डर लुकासेभले भने, ‘भ्याक्सिन परीक्षणको उद्देश्य भनेको यो मानिसको लागि सुरक्षित छ कि छैन हेर्नु हो । परीक्षण सफल भएको छ, यो भ्याक्सिनले मानिसमा प्रयोग गर्न सुरक्षित रहेको पुष्टि भएको छ ।’

    लुकासेभले यो भ्याक्सिनको व्यापक उत्पादनका लागि के–कस्तो तयारी चाहिने हो त्यसका लागि रणनीति पनि बनाउने क्रम जारी रहेको समेत बताए ।

    टारासोभले परीक्षणको कामको प्रशंसा समेत गरेका छन् । उनको भनाई उदृत गर्दै रुसी समाचार एजेन्सीले भनेको छ, ‘सेचेनोभ विश्वविद्यालयले यो महामारीको अवस्थामा शैक्षिक संस्थाको रुपमा मात्र सिमित नभइ वैज्ञानिक र प्राविधक अनुसन्धानमा समेत लागिपर्यो । जसले यो अवस्थामा यस्तो महत्वपूर्ण खोपको विकासमा योगदान दिन सक्यो ।’

    संसारमा अहिलेसम्म ७० लाख भन्दा बढी कोरोनाबाट संक्रमित भइ ठीक समेत भइसकेका छन् । सोहीकारण पनि संसारभरका वैज्ञानिक कोभिड–१९ विरुद्धको खोप निर्माणमा सम्पूर्ण प्रयास लगाइरहेका छन् ।

    अहिलेसम्म विश्वमा गिलियाड सान्सेज, अक्सफोर्ड युनिभर्सिटी र अमेरिकी औषधि निर्माण कम्पनी कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा अगाडि छन् । बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा बनिरहेको भ्याक्सिनको पनि प्रारम्भिक नतिजा उत्साहजनक रहेको बताइएको छ । यस्तै भारतमा बनिरहेको भ्याक्सिनको पनि क्लिनिकल परीक्षण चलिरहेको बताइन्छ ।

    यसअघि गिलियड साइन्सेजले निर्माण गरेको एन्टीभाइरल औषधि रेमदेसिभिर कोरोना विरुद्ध प्रभावकारी देखिएको थियो । सो औषधि गम्भीर बिरामी भएका कोरोना संक्रमितको उपचारमा सफल हुँदै गइरहेको थियो । तर सो औषधिको वास्तविक प्रभावकारिता पुष्टि गर्नका लागि थप परीक्षण आवश्यक रहेको समेत बताइएको थियो । (बीबीसी हिन्दीबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार