Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस सभापति देउवाको पकड क्षेत्र सुदूरपश्चिममै चुनावी गठबन्धनको चर्को विरोध


    मंगलबार, चैत्र १५ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारूढ दलसँग गठबन्धन नभए निर्वाचन हार्ने अभिव्यक्ति दिइरहँदा देउवाको गृह क्षेत्र सुदूरपश्चिममा भने गठबन्धनको चर्को विरोध भइरहेको छ । विभिन्न जिल्लामा ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानमा अन्य दलसँग गठबन्धन गरेर निर्वाचनमा जाने सभापति देउवाको आशयविपरीत स्थानीय नेता कार्यकर्ताले चर्को विरोध गरेका हुन् । सुदूरपश्चिम कांग्रेसका सभापति वीरबहादुर बलायरले पनि  कांग्रेसले कुनै पनि हालतमा गठबन्धन नगर्ने बताउँदै आएका छन् ।

    ‘अधिकांश कार्यकर्ता गठबन्धनको विपक्षमा छन्,’ बैतडी, डोटी, डडेलधुरालगायत पहाडी जिल्लामा निर्वाचन लक्षित कार्यक्रममा पुगेका प्रदेश सभापति बलायरले भने । उनले सुदूरपश्चिममा कांग्रेस कमजोर नभएको दाबी गरे । ‘सुदूरपश्चिममा कुनै पनि हालतमा गठबन्धन हुन सक्दैन,’ देउवाको गृह जिल्ला डडेलधुरामा स्थानीय तह निर्वाचन लक्षित पार्टी कार्यकर्ता अन्तरक्रियामा बोल्दै सभापति बलायरले भने, ‘केन्द्रले के निर्णय गर्छ त्यो बेग्लै विषय हो तर सुदूरपश्चिममा भने कांग्रेसले स्थानीय निर्वाचनमा कसैसँग पनि गठबन्धन गर्दैन ।’

    सोमबार बिहान डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा पनि सभापति बलायरले सुदूरमा गठबन्धनको आवश्यकता नभएको कार्यकर्ताले दबाब दिएको बताए । ‘म सुदूरका सबै जिल्लामा निर्वाचिन लक्षित कार्यक्रममा घुमिरहेको छु हरेक जिल्लामा कार्यकर्ताले गठबन्धन नगर्न दबाब दिएका छन्,’ उनले भने, ‘कांग्रेस आफैं जित्न सक्छ । गठबन्धन गर्दा तल्लो तहसम्मका कार्यकर्ता र परम्परागत मतदातामा निराशा छाउन सक्छ ।’

    प्रदेश सभापति बलायर मात्र होइन, जिल्लाका नेताहरूले  पनि कांग्रेसले गठबन्धन गर्दा पार्टी संगठनमा दीर्घकालीन असर पर्ने बताएका छन् । घरघर जाऔं कांग्रेस जिताऔं अभियानका क्रममा कांग्रेसका क्रियाशील सदस्य र अगुवा कार्यकर्ताले पनि नेताहरूलाई गठबन्धन नगर्न सुझाव दिए । केन्द्रबाट खटिएका केन्द्रीय सदस्यहरूलाई कार्यकर्ताले सभापति देउवाको भनाइलाई अन्धसमर्थन नगरी यथार्थ जानकारी दिन पनि दबाब दिएका छन् । कैलालीका एक क्षेत्रीय सभापतिले भने, ‘कांग्रेस नेतृ आरजु देउवाले पनि गठबन्धन हुनुपर्ने बताइन् तर हामीले त्यसो नगर्न सुझाव दिएका छौं ।’

    कार्यकर्ताको मनोभावना अनुरूप केन्द्रीय समितिमा नेताहरू प्रस्तुत हुन्छन् या हुंदैनन् तर गठबन्धन गरे केही नेतालाई जित्न सजिलो भए पनि मूलतः कांग्रेसलाई गम्भीर क्षति हुन सक्ने उनले बताए । सभापति देउवाको गृहजिल्लाका अधिकांश कार्यकर्ताले अन्तरक्रिया कार्यक्रममा पनि प्रदेश सभापति बलायरलाई कार्यकर्ताको धारणा केन्द्रीय सभापतिलाई जानकारी गराइदिन आग्रह गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार