Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं : बलायर


    सोमबार, चैत्र १४ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • डडेल्धरा। नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताएका छन् । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उनले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताए ।

    ‘कांग्रेसका कार्यकर्ताले तालमेल चाहेका छैनन्,’ सोमबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सभापति बलायरले भने, ‘माओवादी र समाजवादीलाई बनाउनका लागि कार्यकर्ताको भावना विपरीत काम गर्ने कुरा पनि भएन ।’ उनले अरूका लागि आफ्नो घरमा आगो नलगाइने बताए । 

    ‘केन्द्रले जस्तोसुकै निर्णय गरे पनि सबैले त्यसलाई मान्नु पर्छ भन्ने हुँदैन,’ उनले भने, ‘अन्य ठाउँमा गठबन्धन गर्नुपर्ने स्थिति हुन पनि सक्छ । तर, सुदूरपश्चिममा गठबन्धन घातक हुने छ । यहाँ कांग्रेस एक्लै चुनाव लड्छ र पहिलो पार्टी बन्छ ।’

    पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै सभापति बलायरले सुदूरपश्चिम प्रदेश सरकारमा दुई पार्टीले मनोमानी गरेको आरोप लगाए । पार्टीको केन्द्रीय निर्णय अनुसार सुदूरपश्चिममा कांग्रेसले सरकारलाई समर्थन दिएको भए पनि हाल सम्म दुई पार्टी माओवादी र समाजवादीले मनमानी गरेर सरकार चलाएको भन्दै उनले कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा हेरिएको बताए । 

    ‘केन्द्रदेखि प्रदेश सम्म पाँच दलीय गठबन्धनको तालमेल भनिएको छ,’ उनले भने, ‘तर हाम्रो प्रदेशमा कांग्रेसलाई बाहिर राखेर दुई दलको एकलौटी छ, कांग्रेसले उनीहरूलाई चुनाव जिताउन मात्रै किन तालमेल गर्ने ?’

    उनले दुईदलको मनमानी यस्तै भए प्रदेश सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता दिने दाबी समेत गरेका छन् । सभापति बलायरले यसअघि पनि पटक–पटक सुदूरपश्चिममा कसैसँग चुनावी तालमेल नहुने बताइसकेका छन् ।

    बलायरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकोले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको बताए । ‘प्रचण्ड र माधव जीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं,’ उनले भने, ‘हामी कार्यकर्ताको भावना अनुसार अघि बढ्ने छौं ।’ न्युज कारखाना

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार