काठमाडौं । प्रहरी आचरण बिपरीतका क्रियाकलापमा संलग्न एक एसएसपीमाथि कारबाही गर्नका लागि छानबिन समितिले सिफारिस गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा जुवाखालमा भेटिएको चेकमा रकम भरी त्यही चेकका आधारमा नागरिकलाई दुःख दिने एसएसपी अशोक सिंहमाथि कारबाही गर्नुपर्ने प्रतिवेदन प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिले दिएको छ ।
डीआइजी राजेशलाल कर्ण नेतृत्वको छानबिन समितिले एसएसपी सिंहको नियत गलत देखिएको उल्लेख गर्दै कारबाहीका लागि सिफारिस गरेको हो । सिंहमाथि अब गृहमन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ ।
एसएसपी सिंहले सुभाष भेटवालसँग मिलेर राजकुमार बोहराको हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरी उनका बिरुद्ध चेक अनादरमा मुद्दा दर्ता गराउने भन्दै धम्की दिएर रकम लिन खोजेका थिए । एसएसपी सिंहले सुभास भेटवालसँग मिलेर बोहराको हराएको चेकमा रकम भरी तर्साएर लिन खोजेको समितिको निष्कर्ष छ । भेटवालले उक्त चेक हराएको भन्दै चेकमा भएको रकमको माग गरी प्रहरीमा उजुरी गरेका थिए । आफ्नो चेक चोरी गरेर त्यसमा बोहोराले नै रकम भरेको भेटवालले दाबी गरेका थिए ।
भेटवालको निवदेनका आधारमा परिसरको टोलीले चेक हराएको ठाउँमा जुवा खेलेको भनेर घटनास्थलको मुुचुल्का पनि गरेको थियो । जुवा खेलेको ठाउँमा चेक हराएको प्रहरी मुचुल्का भएको अवस्थामा जुवा ऐन अनुसार मुद्दा चलाउनुपर्नेमा एसएसपी सिंह र भेटवाल मिलेर बोहरालाई तर्साएर रकम लिन खोजेका थिए ।
भेटवालको पक्ष लिएर चेकको रकम फिर्ता गर्न एसएसपी सिंहले बोहरालाई मानसिक दबाब दिन छाडेनन् । तर बोहराले हराएको चेकमा रकम भरेकाले पैसा दिन आनाकानी गरिरहे । हराएको चेकमा रकम भरेर तर्साई असुली गर्न खोजेको बिषयमा समाचार सार्वजनिक भएपछि त्यस बिषयमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । छानबिन समितिमा एसपी आभूषण तिमल्सिना र डिएसपी सन्तोष तामाङ पनि सदस्य थिए ।
जुवाखालमा हराएको चेकमा रकम भर्न लगाएर पैसा लिन समेत पछि नपर्ने एसएसपी सिंह घुस खुवाएरै डीआइजी बन्ने खेलमा शक्तिकेन्द्रमा धाउँदैआएका छन् । उनी डेढ बर्षअघि मात्र २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका हुन् । सिंह अहिले डिआईजी बन्न सर्वाधिक चलखेल गर्ने एसएसपीमा पर्दछन् ।
काठमाडौं परिसरको एसपी हुँदा सई विपीन श्रेष्ठको कमाण्डमा घुमुवा परिचालन गरी मिटरब्याजी, जग्गा कारोबारीदेखि चेक बाउन्स, हुन्डी, डलरका कारोबारीसँग हप्ता असुलीमा लगाएर अकूत सम्पत्ति आर्जन गरेका छन् । उनले काठमाडौं परिसरको भवन निर्माणको ठेक्का लिएको समानान्तर निर्माण सेवाका संचालक अच्युतप्रसाद खरेलसँग पनि फायर फाइटिङ लगायतका कुरा छुटेको भन्दै १० करोड थप बजेट छुट्याउँदा आधा करोड घुस लिएको स्रोतको दाबी छ ।