बिराटनगर । मोरङको लेटाङमा शिक्षकले बिद्यार्थीलाई यौनदुव्र्यवहार गरेको विषयमा भएको विवादमा प्रदर्शनकारीले आक्रमण गर्दा एक प्रहरी जवानको मृत्यु भएको छ । प्रदर्शनकारीले आक्रमण गर्दा गम्भीर घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको अस्पताल लैजान नपाई मृत्यु भएको छ ।
नेपाल प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार घटनाको जानकारी पाएपछि स्थानीय प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भीडले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो । प्रदर्शनकारीको आक्रमणमा परेका प्रहरी श्रेष्ठको घाँटीमा गम्भीर चोट लागेको थियो ।
प्रदर्शनकारीको आक्रमणपछि मोरङका एसपी जर्नादन जीसीसहितको टोली घटनास्थलमा पुगेको छ । मोरङको लेटाङ नगरपालिका–५ शिक्षा विकास माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक बालिकामाथि सोही विद्यालयका शिक्षकले जबरजस्ती करणी प्रयास गरेपछि आइतबार दिउँसोदेखि मोरङको लेटाङ तनावग्रस्त रह्यो ।