काठमाडौं । बलात्कारको आरोपमा दोलखाका विनोद गुरुङ पक्राउ परेको र उनलाई छुटाउन दोलखाका एमाले सांसद तथा पूर्व सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले दबाब दिएको बिषयमा समाचार प्रकाशित गर्ने केटीएम दैनिक डटकमकी सम्पादक निशा ओलीलाई केही ब्यक्तिले धम्की दिएका छन् । प्रहरी वृत्त गौशालाले गुरुङलाई बुधबार पक्राउ गरेको खुलासा केटीएम दैनिकले गरेको थियो ।
केटीएम दैनिकले बुधबार लेखेको समाचारमा उल्लेख छ–‘जोरपाटीबाट एक महिलालाई ललाइफकाई गरी अपहरण शैलीमा चाबहिलको एक होटेलमा राखी रेडबुलमा बेहोस हुने विषादी खुवाएर बलात्कार गरेको पीडित युवतीको भनाइ छ । उनलाई साँगा भन्ज्याङ चोकको आसपास अरनिको हाइवे किनारमा झाडीमा फालेको अवस्थाबाट आफन्त र प्रहरीले उद्दार गरेका थिए ।’
नेकपा एमाले शैलुङ गाउँ कमिटीको अध्यक्ष थिरबहादुर मोक्तान, पूर्वमन्त्री पार्वत गुरुङ र उनको दाजु हिमाल गुरुङ त्रिपुरेश्वरको एउटा होटेलमा केस मिलाउने भन्दै भेला भएको स्रोतको दाबी छ, केटीएम दैनिकले लेखेको थियो ।
यही समाचार लेखेकै आधारमा पत्रकार ओलीलाई म्यासेन्जरमा धम्की दिइएको उनले सामाजिक संजालमा उल्लेख गरेकी छन् ।
पत्रकार निशा ओली
म्यासेन्जरमा धम्की आएको बिषयमा सम्पादक ओलीले लेखेकी छन्–‘एकजना महिलालाई बलात्कार गरेर ‘अब त मरी’ भनेर झाँडी फ्याँकिन्छ । प्रहरीले पक्राउ पनि गर्छ । केटाले ७ पटकसम्म जबरजस्ती करणी गरेको भनेर पनि स्वीकार्छ । अनि पूर्वमन्त्रीसमेत भइसकेका नेताले उसलाई छुटाउन दबाब दिन मिल्छ ?
केटाले विवाह गर्न नमानेकोले आरोप लगायो, केटी खराब थिई, हामी विवाह गरिदिन्छौं केस फिर्ता लिनुस्, कति पैसा चाहिन्छ भन्नुस हामी दिन्छौं ।
यति पनि नगरे हामी जे पनि गर्न सक्छौं भनेर धम्की दिने मान्छेलाई कारबाही हुनुपर्छ कि पर्दैन ?? पैसाको आडमा न्याय किन्न नखोज्नुस नेताज्यू । तपाईँको धम्कीले कोही पनि डराउँदैन ।’