काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केही दिनयता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले स्तब्ध र दुःखित तुल्याएको बताएका छन् । शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्–‘गत जेठ ३१ देखि असार २६ गतेसम्म देशका ११ जिल्ला बाढी÷पहिरोबाट प्रभावित भएका छन् । हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पु¥याएको छ । सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नुपरेको छ ।
बाढीपहिरोमा परी ३५ जनाले ज्यानै गुमाउनु परेको छ, ३२ जना घाइते भएका छन् र ३४ जना अझै बेपत्ता छन् । एक सय घर क्षतिग्रस्त बनेका छन् । ३०१ परिवार विस्थापित हुनुपरेको छ । सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्दारमा आवश्यक सुरक्षाकर्मीहरु परिचालित गरिसकेको छ । संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरुलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ ।
यस्ता विपत्तीहरूबाट सुरक्षित हुन सरकारले उद्दार, राहत र पुनस्र्थापनाका कार्यहरू मात्र होइन, विपत्तीमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्वका कार्यक्रमहरू पनि सँगसँगै संचालन गरिरहेको छ ।’
प्रधानमन्त्री ओलीले बाढी पहिरोको यस प्राकृतिक विपद्का कारण झण्डै तीन दर्जन नेपाली दाजुभाइ दिदीबहिनीहरुको असमयमै जीवन गुमेकोमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीको सम्बोधनमा उल्लेख छ–यतिबेला मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ । हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन । तसर्थः जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तिनवटै तह, जनप्रतिनिधिहरु, राजनीतिक नेता, कार्यकर्ताहरु एकजुट भएर संभव सबै प्रकारका उद्दार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाइहाल्नु पर्दछ । म यहाँहरु सबैलाई सम्बन्धित स्थानमा उद्दार कार्यमा जुट्न र आफ्ना दाजुभाइ दिदीबहिनीहरुको सहयोगमा केन्द्रीत हुन विशेष आह्वान गर्न चाहन्छु ।
यस्तो प्राकृतिक विपत्तिप्रति सजग रहँदै अत्यावश्यक उद्दार, सहयोग र उपचारमा ध्यान दिइरहेको बेला हामी विश्वव्यापी कोरोना महामारीको नियन्त्रण, उपचार र रोकथामको लामो प्रयाशमा रहेको तथ्यलाईपनि भुल्नुहुँदैन । विश्वका विभिन्न मुलुकहरुमा झैं हामीकहाँ पनि कोरोना महामारीको संकट हटिसकेको छैन । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा करिब चार महिनादेखि हामी सम्पूर्ण रुपमा केन्द्रित रहेका छौं । र, कोरोनाको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागिपरेका छौं ।
असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जना नेपालीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेहरुको संख्या ३५ रहेको छ, जुन कूल संक्रमितहरुको ०.२१ प्रतिशत हो । उमेर समूहका हिसाबले २१ बर्षमाथि र ४० बर्षमुनिका संक्रमितहरुको संख्या ६० प्रतिशतभन्दा बढी रहेकोछ । यसबाट स्पष्ट हुन्छ, संक्रमितहरु मध्येको ठूलो संख्या सक्रिय र कामकाजी उमेर समूहको छ । कूल संक्रमितको ४८.१ प्रतिशत अर्थात् ८ हजार ११ जना निको भएर घर फर्किसक्नु भएको छ । अझै कूल संक्रमितको ५१.९ प्रतिशत उपचारकै क्रममा हुनुहुन्छ । र, २३ हजार ९ सय १० जना क्वारिन्टिनमा हुनुहुन्छ ।
हामीले शुरुदेखि नै संक्रमितहरुको पीसीआर परीक्षणमा जोड दिदैं आएका छौं, र यसलाई कूल जनसंख्याको २ प्रतिशत पु¥याउने लक्ष्य राखेका थियौं । हाम्रो यो प्रयास जारी छ र हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जना संक्रमितहरुको पीसीआर परीक्षण गरिएको छ । यो संख्या प्रतिदश लाख जनसंख्यामा ९ हजार ३ सय ७७ हो ।
कोरोना रोकथाम कार्यमा १ लाख १० हजार ४ सय ६२ जना सुरक्षकर्मीलाई परिचालन गरिएको छ । सुरक्षाकर्मीसँगै उपलब्ध संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रुपमा उपचार कार्यमा अहोरात्र खटिरहनु भएको छ । वास्तवमा यही जनशक्तिको बलमा हामीले कोरोनालाई परास्त गर्दै अघि बढ्न सकिरहेका छौं ।
लकडाउनको यस अवधिमा भारतबाट २ लाख ८८ हजार ८ सय ६४ जना र विभिन्न अन्य मुलुकहरुबाट २३ हजार २ सय ५४ जना नेपालीहरु स्वदेश फर्किनु भएको छ ।
यही असार २५ गतेसम्मको प्रदेश अनुसारको स्थिति हेर्दा सबैभन्दा बढी संक्रमित संख्या प्रदेश नं २ मा रहेको छ । त्यसपछि क्रमशः प्रदेश नं ५, सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र वागमती प्रदेश रहेका छन् । हाम्रा प्रयासले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउने क्रममा यो स्थितिमा परिवर्तन पनि आएको छ ।
लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको छ । गत असार ९ देखि २४ गतेका बीच मात्रै उपत्यकामा संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या२३३ पुग्यो । यसले संकेत गरिरहेको छ, राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै जाँदैछ । यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत हुनसक्छ । तसर्थः हामी सबैमा थप गंभीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ ।
राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक÷स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनैपनि हालतमा अपनाउनु पर्दछ । छोटकरीमा एस–एम–एस भनिएको– सामाजिक दूरी कायम गनर्,े मास्क प्रयोग गर्ने र समय–समयमा हात धुने कामको लागि म सबैकोविशेषध्यानाकर्षण गराउन चाहन्छु ।
अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासोर जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो । पार्टीभित्र हुनेयस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउनेछन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।
अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।
यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend