Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जब सेन्टरको नाममा ठगी धन्दा: जागिर दिने भन्दै पैसा असुल्ने ९ जना पक्राउ


    सोमबार, फाल्गुन २३ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । महानगरीय प्रहरी अपराध महाशाखाले विभिन्न जब सेन्टरहरू स्थापना गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ।

    अपराध महाशाखाका अनुसार कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव छन्।

    यसैगरी, अन्य पक्राउ पर्नेमा काठमाडौं-३२ एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, क्वीकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचन कुमार यादव छन्।

    उनीहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका र पम्प्लेटमा ‘घरमै बसेर जागिर मिल्छ’ भनी प्रचारप्रसार गर्ने र जागिरका लागि फारम भर्ने बहानामा तीन सयदेखि पाँच सय रुपैयाँसम्म, कामको ग्यारेन्टी भन्दै एकदेखि ६ हजारसम्म रकम लिने गरेका थिए।

    सर्वसाधारणबाट त्यसरी पैसा लिएपछि उनीहरू कोही भाग्ने, कसैलाई काममा लगाउने र लगाइहाले पनि तोकिएको तलब-सुविधा नदिई केही समयमै जागिर छोड्न बाध्य बनाउने गरेको प्रहरी स्राेतले बताएकाे छ ।

    पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नयाँ बानेश्वर वृत्त र बालाजु वृत्तमा पठाइएको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार