काठमाडौं । १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सवस्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट गएको टोलीले पहाडीलाई सेवाग्राहीबाट घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा पहाडीले जिर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको हुँदाहुँदै पनि बिजुलीको पोल सार्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको खुलेको थियो । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएकोले उनलाई बिगो बराबरको जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।