काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ आइतबार निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका थिए । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरी उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सांसद बानियाँमाथि बलात्कारको आरोप लागेपछि निलम्बनमा परिसके तर नाबालिग बलात्कार प्रकरणमा कलाकार पल शाह(पूर्णविक्रम शाह) लाई चलचित्र कलाकार संघले अहिलेसम्म निलम्बन गरेको छैन । पल शाहबिरुद्ध २०७८ फागुन ८ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ बर्षीया बालिका बलात्कार गरेको जाहेरी परेको थियो ।
जाहेरी परेको ७ दिनपछि फागुन १५ मा उनी तनहुँ जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए । फागुन १५ देखि उनी तनहुँ प्रहरीको हिरासतमा छन् । जाहेरी परेको १३ दिनसम्म पनि चलचित्र कलाकार संघले कलाकार साहलाई निलम्बन समेत गरेको छैन ।
नाबालिग बलात्कार जस्तो संगीन आरोप लागेका कलाकार शाहलाई निलम्बन नगरिएकोबारेमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले भने–‘प्रहरीले अनुसन्धान गरिरहेको र अदालतमा विचाराधीन बिषय भएकाले कुनै एकपक्षलाई असर पुग्नेगरी राम्रा नराम्रा टिप्पणी नगर्ने निष्कर्षमा पुगेका छौं ।’ खड्काको भनाइ छ–‘संघ बलात्कार आरोपी शाह र पीडित बालिका दुवैको बिरोध वा समर्थनमा छैनौं । दुवै कलाकार हुन्, घट्नुनपर्ने घटना घट्यो, सम्मानित अदालतमा यो बिषय पुगेको छ, त्यहीँबाट दोषी ठहरिएमा संघले त्यतिबेला नै निर्णय गर्नेछ ।’